हिमालयन रिइन्सुरेन्सको आईपीओ बिकेन,आवेदन दिने समय थप

अर्थकागज
प्रकाशित: ३० मंसिर २०८०
Image description

काठमाडौं ।हिमालयन रिइन्सुरेन्सको आईपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर पुस ११ गतेसम्म पुर्याइएको हो । तथापि, यसअघि मागभन्दा बढी आवेदन परे जुनसुकै दिन पनि सूचना निकालेर आईपीओ  निष्कासन बन्द भएको जानकारी दिने कम्पनीले जनाएको छ । 

कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।

कहाँबाट आवेदन दिने ?

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर