साझा यातायातका चालकहरुको निःशुल्क आँखा परिक्षण

अर्थकागज
प्रकाशित: २१ असार २०८२
Image description

काठमाडौं । साझा यातायातमा कार्यरत सवारी चालकहरुको निःशुल्क आँखा परिक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघ काठमाडौं शाखा र साझा यातायातको संयुक्त आयोजना तथा किर्तिपुर आँखा अस्पतालको प्राबिधिक सहयोगमा आँखा परिक्षण गरिएको हो ।

शनिबार साझा यातायातको कार्यलयमै यातायातमा आवद्ध सम्पुर्ण चालक, सहचालक र कर्मचारीहरुको आँखा परिक्षण गरिएको हो । नेपाल नेत्रज्योति संघ काठमाडौं शाखाका सभापति हुकुम प्रसाद पोखरेलका अनुसार यातायातमा आवद्ध १७९ जनाको आँखा परिक्षण गरिएको थियो ।

आँखा परिक्षण गरिएकाहरुमध्यमा १५ जनालाई दृष्टिदोषको समस्या देखिएको छ । सभापति पोखरेलका अनुसार आवश्यक देखिएकाहरुलाई नजिकको चश्मा र कालो चश्मा समेत निःशुल्क वितरण गरिएको थियो ।

एउटा चालकको आँखाले सयौँ यात्रुको आँखाको प्रतिनिधित्व गर्ने भन्दै सभापति पोखरेलले चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

आँखा परीक्षण कार्य कीर्तिपुर आँखा अस्पतालका विशेषज्ञ डा. मनिषा श्रेष्ठ र दिपा खड्कासहित ७ जनाको प्राविधिक टोलीद्वारा सम्पन्न गरिएको हो। 

स्थापनादेखि सन् २०२४ को अन्तिमसम्ममा संघका २८ आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखाहरुको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ६८ लाख ६८ हजार ६० जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर