नेप्से प्रमुखको पदावधि आउँदो शुक्रबार सकिँदै, दक्ष व्यक्ति नियुक्त गर्न कर्मचारीहरूको माग

अर्थकागज
प्रकाशित: २३ माघ २०८१
Image description

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीको पदावधि यही शुक्रबारबाट सकिँदैछ। उनी तीन वर्षको कार्यकाल सकाएर नेप्सेबाट बिदा हुँदैछन्। उनी बिदा हुनु भन्दा अघि नै नेप्सेका कर्मचारीले नयाँ दक्ष व्यक्ति नियुक्ति गर्न भन्दै सरकारसँग माग गरेका छन्।

नेप्से कर्मचारी संघले एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारसँग माग गरेको हो। 'नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल मिति २०८१/१०/२५ गते सकिँदै छ। नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) संस्था स्वयंको पुनर्संरचना गर्ने, साना तथा मझौला कम्पनीको सेयर कारोबार गर्ने/गराउने, नयाँ कारोबार योग्य औजार ल्याउने, प्रविधिलाई अद्यावधिक गराउने लगायतको चुनौतीपूर्ण अवस्थाबाट अगाडि बढिरहेको छ,' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघले जारी गरेको विज्ञप्तिमा पूँजी बजारको विषयमा ज्ञान भएको सक्षम नेतृत्वको खाँचो रहेको औल्याउदै नेप्सेको प्रमुख कार्यकारी अधिकृत पूँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पूँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनसंरचना कार्य गर्न गराउन सक्ने व्यक्तिलाई छनोट गरी पठाउन सरकारसँग माग गरेकाे छ। “नेपाल सरकार अर्थ मन्त्रालयबाट अब नियुक्त गरिने नेप्सेको प्रमुख कार्यकारी अधिकृत पूँजी बजारको विषयमा ज्ञान सिप, व्यवसायीक क्षमता भएको नैतिकवान साथै पुँजी बजारको विकास, लगानीकर्ताको हित संरक्षणमा प्रतिबद्ध र नेप्सेको पुनर्संरचना कार्य गर्न गराउन सक्ने व्यक्तिलाई छनोट गरी पठाउन हुन अनुरोध गर्दछौँ,” संघका अध्यक्ष नवराज थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर