आज देशका अधिकांश भागमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

अर्थकागज
प्रकाशित: ०५ साउन २०८२
Image description

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहँदा मौसम बदली भई अधिकांश स्थानमा वर्षा भइरहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर सरेकाले आगामी दिनमा वर्षाको मात्रा अझ बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा जारी छ ।

सोमबार देशभर मौसम सामान्यतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै देशका विभिन्न ठाउँमा बाढी तथा पहिरोको जोखिम बढेको छ । निरन्तरको वर्षाले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम उच्च रहेको छ । सहरी तथा तराईका क्षेत्रहरूमा डुबानको खतरा बढेको छ भने ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने देखिएको छ । महाशाखाले सम्भावित विपद्बाट बच्न आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा विशेष अनुरोध गरेको छ । नदी तटीय क्षेत्र, भिरालो जमिन तथा यात्राका दौरान विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर