१५ दिनभित्र बक्यौता नतिरे फेरि लाइन काट्छौं : कुलमान

अर्थकागज
प्रकाशित: २७ कात्तिक २०८१
Image description

काठमाडौं । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र बक्यौता नतिरे उद्योगहरूको लाइन फेरि काटिने बताएका छन् । काठमाडौंमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

‘हामीले मन्त्रिपरिषद्को निर्णयानुसार उद्योगहरूमा पुन: लाइन जोडेका छौं । यसअघि पनि ३ पटक उद्योगहरूको लाइन विच्छेद गरेका थियौं । तर सरकारको निर्देशनमा पुन: लाइन जोडियो । ४ औं पटक कात्तिक ८ गते लाइन काटियो । सरकारले १५ दिनभित्र बक्यौता उठाउने गरी २४ घण्टाभित्र लाइन जोड्न निर्देशन दिएको छ । हामी १५ दिन भित्र बक्यौता उठाउन लाग्नेछौं । त्यस अवधिमा बक्यौता नबुझाउने हो भने हामी आफ्नो प्रक्रियामा फेरि पनि लाग्नेछौं,’ उनले भने ।  कानुनी रूपमा बक्यौता उठाउन लाइन काटेको अवस्थामा हाललाई २४ घण्टाभित्र लाइन जोड्ने निर्देशन प्राप्त भएको र त्यसलाई मान्नुपर्ने बाध्यता रहेको उनले सुनाए । अब बक्यौता उठाउने जिम्मेवारी नेपाल सरकार र ऊर्जा मन्त्रालयको पनि भएको उनले बताए ।

डेडिकेटेड र ट्रंकलाइन बाफतको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुको लाइन काटिदिएको थियो । गत आइतबारको मन्त्रिपरिषद बैठकले उद्योगहरुमा काटिएका लाइन जोड्ने र १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेको थियो । त्यसपछि मंगलबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले मन्त्रिपरिषद बैठकको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर