सेबोनमा उत्पन्न वर्तमान परिस्थितिको यथाशीघ्र समाधान गर्न मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालको आग्रह

अर्थकागज
प्रकाशित: २७ असोज २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा उत्पन्न वर्तमान परिस्थितिको यथाशीघ्र समाधान गर्न बैंकर्स एसोसिएसन अफ नेपालले सम्बन्धित निकायहरुलाई आग्रह गरेको छ । नेपाल सरकार, अर्थ मन्त्रालयबाट मिति २०८२ साल भाद्र ३१ गते नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको सेवा सुविधा सम्बन्धमा जारी गरेको निर्देशन कार्यान्वयनका क्रममा उत्पन्न असमझदारीका कारण बोर्डमा कार्यरत कर्मचारीहरू पछिल्लो ३ (तीन) हप्तादेखि आन्दोलनरत रहेको कारणले गर्दा मर्चेण्ट बैंकरहरुले नियमित रुपमा बोर्डमा बुझाउनु पर्ने विवरण/कागजात बुझाउन नसक्नुको साथ धितोपत्रको सार्वजनिक निष्काशनसँग सम्बन्धित कार्यहरु लगायत नेपाल धितोपत्र बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरू ठप्पसरह भएको विषयमा यस नेपाल मर्चेन्ट बैंकर्स संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देशको वर्तमान विषम परिस्थितिमा नेपालको पूँजी बजारको सर्वोच्च नियामक निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डमा यस प्रकारको अन्यौलको स्थिति सृजना हुनु र आजको मितिसम्म पनी उक्त विषयमा सम्बन्धित निकायबाट उचित सम्बोधन नगर्दा झन् असहज परिस्थिति सृजना हुँदै गएको देखिन्छ । नेपाल धितोपत्र बोर्ड मातहतका सम्पूर्ण सङ्गठित संस्था, सूचीकृत कम्पनीहरू लगायत पूँजी बजारका अन्य सहभागीहरुको निरन्तर रुपमा नियमन तथा सुपरिवेक्षण गर्नुपर्ने तथा पूँजीबजार सुधार कार्यदलले सुझाएका सुझावहरु कार्यन्वयन गर्नुपर्ने आवश्यक भएको समयमा यस प्रकारको असहज अवस्थालाई समयमा नै उचित समधान गरी बोर्डबाट प्रवाह हुने सम्पूर्ण कार्यहरु सूचारु गर्दा पूँजी बजारको सञ्चालन, बजारको स्थायित्व तथा धितोपत्रको दोश्रो बजार प्रति आम लगानीकर्ताहरुको मनोवल बढ्ने संघले गरेको छ ।

धितोपत्र नियामक निकायहरुको अन्तर्राष्ट्रिय छाता संगठन (International Organization of Securities Commissions - IOSCO) का सिद्धान्त अनुसार नियामक निकायको स्वायत्तता, संस्थागत निरन्तरता र स्थायित्व कायम रहनु अत्यावश्यक हुन्छ । यस सन्दर्भमा, नेपाल धितोपत्र बोर्डको स्वायत्तता र पूँजी बजारको स्थायित्वलाई मध्यनजर गरी आन्दोलनरत कर्मचारीहरूसँग सकारात्मक संवाद र सहमतिको माध्यमबाट हालको अन्यौलजन्य परिस्थितिको यथासिघ्र समाधान निकाल्नुहुन यस नेपाल मर्चेण्ट बैंकर्स संघले नेपाल सरकार, अर्थ मन्त्रालय र नेपाल धितोपत्र बोर्ड लगायत अन्य सम्बन्धित पक्षलाई सविनय सादर अनुरोध समेत गरेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर