स्काउटिङ शिक्षा ,नेपालमा यसको सुरुवात र आवश्यकता


विद्यार्थीलाई किताबी ज्ञानका साथै प्रकृतिसँग नजिक बनाउँदै व्यवहारिक ज्ञान दिने उद्देश्यले सुरु भएको स्काउटिङ शिक्षा एक नन फर्मल शैक्षिक अभियान हो । नेपालमा स्काउटिङ शिक्षाको सुरुवात भएको झन्डै ७१ वर्ष भैसकेको छ । यतिका वर्ष वितिसक्दा पनि स्काउटिङ अभियानले भने जुन मात्रामा समाजमा परिवर्तन ल्याउनुपर्ने हो त्यति मात्रामा परिवर्त ल्याउन नसकेको वरिष्ठ स्काउटहरु बताउँछन् । नेपाल सरकारले विश्वव्यापीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा हाम्रा शैक्षिक नीतिहरु परिवर्तन भए । हामीले हाम्रा बालबालिकालाई संस्कारसहितको शिक्षा दिन छोड्यौं । नैतिक शिक्षालाई बिर्सेर शिक्षाका पश्चिमी दर्शनलाई अपनाउन थाल्यौं जसको कारण आज बालबालिका तथा युवामा कोरा अक्षरको ज्ञान त छ तर व्यवहारिक ज्ञानको अभाव देखिन्छ । यदाकदा हिजोआज बालबालिकालाई किताबी ज्ञानका साथै व्यवहारिक सीप तथा संस्कारसहितको शिक्षा भन्ने सुनिन्छ । यस्ता सम्पूर्ण ग्यापलाई पूरा गर्न सक्ने स्काउटिङ एक यस्तो शैक्षिक अभियान हो जसले चेन अफ कमान्डमा रहेर युवा तथा बालबालिकालाइ 'Learning By Doing’ प्रक्रियाबाट नैतिक र चरित्रवान बन्न सिकाउँछ । सानै उमेरबाट मितव्ययी बन्न प्रेरित गर्ने स्काउटिङ शिक्षामा बालबालिका तथा युवालाई Think Globally Act Locally भनेजस्तै स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको उपयोग गरेर अघि बढ्न सिकाइन्छ जसले नेपालको अर्थतन्त्रमा राम्रै योगदान दिन सक्छ ।
पछिल्लो समयमा काठमाडौं महानगरपालिकाले बालबालिकालाई किताबी ज्ञानका साथै व्यवहारिक सीप विकास गर्ने गरेर साताको एक दिन शुक्रबारलाई टेक्स्ट बुक फ्रि फाइडेकै रुपमा समेत अभ्यास गराउँदै आएको छ । विभिन्न अतिरिक्त क्रियाकलापका रुपमा लिइने यी शैक्षिक क्रियाकलापमा विद्यार्थीले काठमाडौं महानगरको योजना अनुसार विद्यालयमा गठित शैक्षिक क्लवहरुमा रहेर आफ्नो रुचिको क्षेत्रमा दक्षता हासिल गर्न सक्ने प्रावधान रहेको महानगरले बताउँदै आएको छ । यस्ता शैक्षिक बाल क्रियाकलापमा आधारित रहेर गत महिनामा मात्रै काठमाडौं महानगरपालिकाले शैक्षिक मेला समेत सम्पन्न गर्यो जसमा विद्यार्थीले स्काउटिङ शिक्षादेखि सिलाइ तथा ब्यूटी पार्लरसम्मका क्षमता प्रदर्शन गरे । यस्ता क्षमता प्रदर्शन गरिरहँदा स्काउटिङ शिक्षा मात्र एक यस्तो प्याकेज हो जसमा ६ वर्षदेखि २५ वर्षसम्मका युवा स्काउटले आफ्नो सक्रिय स्काउटिङ गतिविधिका माध्यमबाट वातावरण संरक्षणदेखि सिलाई,बुनाई तथा नवप्रवर्तन प्रविधिको ज्ञान समेत समूहमा रहेर एकै विधि प्रक्रियाका माध्यमबाट हासिल गर्न सक्छन् ।
नेपालमा पनि बजारीकरणको अभ्यास बढेसँगै अभिभावकहरु काममा व्यस्त हुने र बालबालिकाहरु मोबाइल,ल्यापटप जस्ता प्रविधिमा बढी व्यस्त बन्दै जाँदा उनीहरुमा शारीरिक,मानसिक समस्या बढ्दै गएको विभिन्न प्रतिवेदनहरुले देखाउँछ । एकातिर शारीरिक तथा मानसिक समस्या बढ्दै गएको छ भने अर्कोतिर व्यवहारिक शिक्षाको कमी हुँदै गइरहेको छ । यतिबेला शैक्षिक वर्षको समाप्ती र नयाँ शैक्षिक वर्षको सुरुवाती चरणमा हामी रहँदै गर्दा विद्यालय शिक्षामा स्काउटिङ शिक्षा अनिवार्य नै गर्नुपर्ने शिक्षा विद्हरु बताउँछन् । स्काउटिङ शिक्षाले बालबालिका तथा युवामा आधारभूत जीवनोपयोगी सीपको विकास गर्ने र सानै उमेरदेखि समूहमा रहेर काम गर्ने बानीको विकास गर्ने हुँदा अन्तराष्ट्रियस्तरको मानवीय संसाधन निर्माणका लागि स्काउटिङ शिक्षा अपरिहार्य हुने शिक्षा विद्हरुको बुझाइ छ ।
भरर्खरै एसइइ दिएका नन्स्काउट विद्यार्थीलाई समेत समुदाय र सामाजिक कार्य चिनाउन,बुझाउन र आवश्यक परेको बेलामा राज्यलाई भोलिन्टियर सेवा दिने गरेर तयार गर्नका लागि हरेक प्लस टु कलेजमा स्काउटिङ शिक्षा अनिवार्य गर्न जरुरी देखिन्छ । त्यसैले स्काउटिङ शिक्षाको बहुआयामिक पक्षलाई समावेश गरेर स्काउटिङ शिक्षा , यसको अभ्यास र समुदाय तथा राष्ट्रमा यसले पार्ने असरका बारेमा यस आलेखमार्फत् केही जानकारी दिने प्रयत्न गरिएको छ ।
स्काउट परिचय
सेवा,विनम्रता,आज्ञाकारिता,एकता र विश्वसनियतालाई बोकेर व्यक्ति,समाज,राष्ट्र हुँदै अन्तर्राष्ट्रिय समुदायसम्म पुग्ने क्षमता राख्ने व्यक्ति नै हो स्काउट । हरियो सर्ट,पेन्टस् वा हरियो सारी वा फ्रक लगाएका युवा तथा बालिका स्काउट र खरानी रङको सर्ट र पेन्ट लगाएका बालक तथा युवा स्काउटलाई हामीले विभिन्न सामाजिक काममा निरन्तर लागिरहेको पाउने समूह नै हो नेपाल स्काउट । एउटै पहिरनमा सजिएर एकतामूलक रुपमा राष्ट्रमा आइपरेका विभिन्न विपद्को सामना गर्नसम्म नेपाल स्काउट तत्पर रहँदै आएको छ । अन्तर्राष्ट्रिय समुदायसम्म पुगेर युवा तथा बालबालिकाले आफ्नो ज्ञान,सीप र क्षमतालाई प्रदर्शन गर्दै ‘सुन्दर विश्वको सिर्जनाका लागि’अन्तर्राष्ट्रिय समुदायमा राष्ट्रको नाम उचो पार्न सक्ने महत्वपूर्ण थलो नेपाल स्काउट बन्दै गएको छ ।
विश्वमा स्काउटिङ शिक्षा
सन् १९०७ मा लर्ड बेडेन पावेलले २० जना युवा स्काउटलाई साथमा लिएर सुरु गरेको यो युवा शैक्षिक अभियान आज विश्वका २१६ राष्ट्रमा फैलिसकेको छ । यस अभियानमा विश्वका ३१ मिलियन बढी सक्रिय सदस्य रहेका छन् । सन् १९४० मा लर्ड वेडेन पावेलले आफ्नो मृत्यु अगाडि आफ्ना अनुयायीहरुलाई सधैं यो भनाइलाई याद गर्न भनेका थिए 'Try and leave this world a little better than you found it' हो, आज पनि विश्वका सम्पूर्ण स्काउटका गतिविधिहरु यही भनाइका वरिपरि केन्द्रित भएर गरिएको पाइन्छ ।
नेपालमा स्काउटिङ शिक्षाको सुरुवात र विकास
नेपालमा प्रजातन्त्रको आगमन लगत्तै वि.सं २००९ साल असार ५ गते राजा त्रिभुवन वीरविक्रम शाहदेवले नेपाल स्काउटको विधिवत रुपमा उद्घाटन गरेका हुन् । वि.स.२००९ सालमा नेपाल स्काउटको स्थापना भए पनि यसले विश्व स्काउटको विधिवत पूर्ण सदस्यता भने विसं २०२६ सालमा मात्र प्राप्त गरेको हो । विसं २०३२ सालमा नेपाल स्काउटले युवा कार्यक्रम नीति तय गर्यो र उक्त नीतिकै माध्यमबाट स्काउटिङ गतिविधिलाई निरन्तरता दिइएको पाइन्छ । उक्त नीतिमा ६ वर्षदेखि २५ वर्षसम्मका युवालाई स्काउटिङ शिक्षाका विभिन्न तहमा वर्गीकरण गरेर स्काउटिङ गतिविधिमा समावेश गर्न सकिने उल्लेख गरिएको छ ।
नेपाल स्काउटले जारी गरेको युवा कार्यक्रम नीतिले शारीरिक,बौद्धिक,सामाजिक,संवेगात्मक तथा आध्यात्मिक क्षेत्रबाट बालबालिका तथा युवामा शारीरिक स्वास्थ्य,बौद्धिक क्षमता,बाहिरी क्रियाकलाप,ह्याण्डिक्राफ्ट,गृहसेवा,सेवा तथा चरित्र निर्माण र सम्बन्धको विकासमा जोड दिने जनाइएको छ । युवा कार्यक्रम नीतिले निर्देश गरे अनुसारकै स्काउटिङ गतिविधिका कारण स्काउटिङ शिक्षामा रहेका बालबालिका तथा युवा साधारण बालबालिका तथा युवा भन्दा फरक रहेको तपाईं हामीले भेट्दै र अनुभव गर्दै आइरहेका छौं ।
नेपालका बालबालिका तथा युवा वर्गलाई विश्व स्काउटको सिद्धान्त र मान्यता अनुरुपको अभियानमा सहभागी गराई तिनीहरुको शारीरिक,मानसिक र बौद्धिक विकास गरी तिनीहरुलाई अनुशासित स्वाबलम्बी र चरित्रवान् बनाइ सेवा भावनाको अभिवृद्धि गर्दै देश विकास कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई बढी सक्षम र संगठित बनाउने उद्देश्यले नेपाल स्काउट ऐन २०५० कार्यान्वयनमा रहेको छ ।
नेपाल सरकार,युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको राष्ट्रिय युवा नीति,२०७२ र युथ भिजन २०२५ को कार्यान्वयन कार्ययोजना अनुसार युवा राष्ट्रिय परिवर्तनका संवाहक हुन् । नेपालको राजनीति र सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएका युवा जगत्ले सन् २०१५ को भूकम्प पछि उद्धार,राहत र अस्थायी पुनस्र्थापनामा देखाएको स्वयंसेवकीय भूमिका अतुलनीय रहेको उल्लेख छ भने देश निर्माणका लागि आगामी दिनमा युवाको भूमिका अझ बढ्दै जाने कुराको निश्चितता समेत उक्त कार्ययोजनाले गरेको छ ।
राष्ट्रिय युवा नीति २०१५ ले युवा विकासका लक्ष्य,उद्देश्यहरु र नीतिहरु तय गरिसकेको छ । युवा नीति २०१५ कै मार्गनिर्देशनमा रही युथ भिजन २०२५ ले नेपाली युवालाई सबल,सक्षम,प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत आधुनिक,न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने भन्ने सोच तय गरेको छ । युवाका लागि गुणस्तरीय शिक्षा,रोजगारी र उद्यमशीलता,युवाको स्वास्थ्य र सामाजिक सुरक्षा,युवा परिचालन,सहभागिता र नेतृत्व विकास , खेल र मनोरञ्जनलाई आधार मानी ५ खम्बे रणनीति र कार्यक्रमहरु तय गरेको छ । यी युवा केन्द्रित रणनीतिहरु हेर्दा स्काउटिङ शिक्षा र गतिविधिसँग शतप्रतिशत मेल खाने देखिन्छ ।
तसर्थ,६ वर्ष देखि २५ वर्षसम्मको उमेर समूहलाई युवा वर्गका रुपमा नेपाल स्काउटले लिँदै आएको छ । आर्थिक वर्ष ०८१।८२ को अन्तिम चरणमा हामी रहँदै गर्दा यतिबेला प्लस टु कलेज तथा माध्यमिक विद्यालयहरुमा नयाँ विद्यार्थी भर्ना योजना बन्दै गरेको अवस्था छ । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षामा स्काउटिङ शिक्षालाई कोकरिकुलम एक्टिभिटिमा पाठ्ययोजना नै बनाएर अनिवार्य गरिसकेको छ भने उच्च माध्यमिक शिक्षा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका लागि पनि स्काउटिङ शिक्षा अनिवार्य गर्नुपर्ने देखिन्छ ।
नेपाल स्काउटको मिसन र भिजन
विश्व स्काउटको सिद्धान्तमा आधारित रहेर युवा विद्यार्थीलाई विभिन्न स्काउटिङ एक्टिभिटिका माध्यमबाट जिम्मेवार नागरिक तयार गर्नु नै नेपाल स्काउटको मुख्य उद्देश्य हो । सन् २०३२ सम्ममा ७ लाख युवा सदस्य निर्माण गरी उनीहरुलाई स्काउटिङ एक्टिभिटिका माध्यमबाट आत्मनिर्भर,प्रतिस्पर्धी बनाइ राज्यका नेतृत्वदायी भूमिकामा सक्रिय गराउने परिकल्पना नेपाल स्काउटले गरेको छ । एक लाख भन्दा बढी सक्रिय स्काउट आवद्ध रहेको नेपाल स्काउटमा पछिल्लो समयमा देखिएको राजनैतिक प्रभावका कारण भने संस्थाको गरिमामा नै नकारात्मक असर पर्न सक्ने वरिष्ठ स्काउटरहरुको बुझाइ छ ।
निष्कर्ष
सरकारले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई प्राप्त गराउने बलियो खम्बा भनेकै युवा वर्ग हुन् । उनीहरुलाई औपचारिक शिक्षा दिँदै गर्दा ६ वर्षको कलिलो उमेर देखि नै नेतृत्वदायी भूमिकामा ल्याउने स्काउटिङ शिक्षामा समावेश गराउँदै उत्तरदायी र जवाफदेही नागरिकको उत्पादन नै आजको आवश्यकता हो । यसका लागि नेपाल सरकार,नेपाल स्काउट र सम्बन्धित सरोकारवालाले सहकार्य गरेर नेपाल स्काउटका कार्यक्रमलाई सशक्त ढंगले विद्यार्थी र युवाका बीचमा लग्नुपर्ने देखिन्छ ।
(लेखक गंगा चौलागाई, नेपाल स्काउट,काठमाडौं महानगर समिति सदस्य हुनुहुन्छ )
प्रतिक्रियाहरू
Indu Subedi
2 weeks ago
Wow Great job 👏
ganga chaulagain
2 weeks ago
नमस्कार लेखमा आर्थिक वर्ष ०८१।८२ हुनुपर्नेमा भूलबस ०८०।८१ भएकोमा सच्याइदिनुहुन अनुरोध गर्दछु ।
Shares