एसवाई प्यानलको आईपीओ बाँडफाँट सम्पन्न, लक्की नम्वर १ र ५
काठमाडौँ । एसवाई प्यानलको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईपीओ आज बाँडफाँट गरेको हो । आईपीको लक्की नम्वर ५ र १ रहेको छ । कम्पनीको आईपीओमा २१ लाख ६६ हजार ९३९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ लाख ७ हजार ६१५ ले १०।१० कित्ता दरले शेयर हात पारेका छन् । यी नै मध्यबाट ६ जनाले थप १/१ कित्ता गरी ११/११ कित्ता आईपीओ हात पारेको बिक्री प्रबन्धकले जानकारी दिएको छ। आईपीओमा १७ लाख ५९ हजार ३२४ जनाको हात रित्तो भएको छ ।
कम्पनीले प्रथम चरणको आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेकाले दोस्रो चरणमा सर्वसाधारणका लागि कात्तिक १९ गतेबाट जारी गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये पहिलो चरणमा आयोजना प्रभावितलाई २ लाख ६१ हजार ६२७ कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई ४ लाख ९७ हजार ९२ कित्ता बाँडफाँड गरिसकेको छ।
कम्पनीले बाँकी कित्तामध्ये कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता आईपीओ सुरक्षित गरी बाँकी रहेको ४० लाख ७६ हजार १५६ कित्ता आईपीओ सर्वसाधारणमा बिक्री खुला गरेको थियो ।
Shares