सिटिजन्स बैंकले ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ निश्कासन गर्ने
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले असोज १७ गतेदेखि ‘१०% सिटिजन्स डिबेन्चर २०९०’ जारी गर्ने भएको छ ।
यसमा वार्षिक १०% ब्याजदर दिने बैंकले जनाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।
बाँकी १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । यसबाट ५% अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ । यस ऋणपत्रमा असोज २१ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने कात्तिक गतेसम्म खुला रहनेछ । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम बिक्री खुला भएको सबै इकाईसम्म आवेदन दिन सकिनेछ ।
कहाँबाट आवेदन दिने ?
इच्छुक लगानीकर्ताले सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।
Shares