आज यी स्थानमा भारी वर्षाको संभावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुन केही कमजोर बनेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरिएकाले यस्तो भएको हो।
यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेकाले देशभर सामान्यतया आंशिकदेखि पूर्ण बदली रहने विभागले जनाएको छ। अहिले बिहान बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
पछिल्लो २४ घन्टामा गोरखाको बारपाकमा सर्वाधिक ७७ मिलिमिटर वर्षा रेकर्ड भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको गोब्रेमा ७५.४, काठमाडौंको धापमा ६६.२ र अछामको सुगालीमा ५५.४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ।
मंगलबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका केही स्थानमा र मधेस प्रदेशको तराईमा पनि एक–दुई स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
Shares