सिधाकुराका प्रकाशक र सम्पादकलाई कैद फैसला भएकोप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

अर्थकागज
प्रकाशित: १३ असोज २०८१
Image description

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई कैद फैसला भएकोप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्ष भएकाे जनाएकाे छ ।

महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति निकालेर सर्वोच्च अदालतबाट आएको फैसलाप्रति ध्यानाकर्षण भएको जनाएका हुन् । समाचार स्रोतलाई विश्वास गरेर गलत समाचार प्रकाशन÷प्रसारण गरेको स्वीकार गर्दै सम्बन्धित सञ्चार संस्थाले उक्त समाचार हटाएको र माफीसमेत मागिसकेको अवस्थामा अदालतबाटै यस्तो फैसला आउनु दुःखत भएको महासंघको विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘स्रोतबाट प्राप्त सामग्री पत्रकारले प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था नभएको र सञ्चारसम्बन्धी नीति तथा कानूनले त्यस्तो व्यवस्था नगरेको अवस्थामा प्रकाशित सामग्री गलत भएमा सच्चाउने व्यवस्था पत्रकार आचारसंहितामा गरिएको छ ।’

सञ्चारमाध्यममा आएका सामग्रीमा चित्त नबुझेमा प्रचलित कानूनको अधीनमा रहेर प्रेस काउन्सिल नेपाल र अदालतबाट निरुपण हुनुपर्छ भन्ने मान्यता महासंघको रही आएको भन्दै महासँघले कुनै पनि फैसला संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताविरुद्ध हुन नहुने भनेको छ ।

सञ्चारमाध्यमले माफी मागेर गलत सामग्री हटाइ सकेको अवस्थामा सर्वोच्च अदालतले आफैँले प्रतिवेदन उठान गरेर निवेदन दर्ता गरी आफैँले पत्रकारलाई जेल पठाउने फैसला गरेकोप्रति महासंघले चासो र चिन्ता व्यक्त गरेको छ ।

महासंघले कुनै पनि फैसला वा निर्णय सञ्चार क्षेत्र नियन्त्रणका लागि दिर्घकालीन नजिर नबनोस् भन्ने विषयमा ध्यानाकर्षणसमेत गराएको छ । नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी मान्यताको पक्षमा नेपाल सरकार, न्यायालय र अन्य सम्बन्धित पक्षलाई गम्भीर हुन महासंघले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर