रंगेलीमा निःशुल्क आँखा शिविर, १ हजार भन्दा वढीको परीक्षण
रंगेली । मोरङको रंगेलीस्थित आँखा तथा कान उपचार केन्द्रमा नेपाल नेत्रज्योति संघ, विराटनगर आँखा अस्पतालको आयोजनामा दुईदिने निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा कुल १ हजार ५५ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा ६ सय ६५ जनामा दृष्टिदोष पहिचान भएको थियो भने ४ सय ३ जनालाई औषधि वितरण गरिएको थियो । त्यसैगरी, ३ सय ५७ जनालाई चश्मासहित निःशुल्क आँखा स्वास्थ्य सेवा प्रदान गरिएको थियो। शिविरमा मोतियाबिन्दु पहिचान भएका १ सय ५१ जनाको निःशुल्क शल्यक्रिया गरिएको थियो ।
नेपाल नेत्रज्योति संघ र वल्र्डवाइड डक्टर्स, टर्कीबीच भएको सम्झौताअनुसार समुदायस्तरमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो। उक्त सम्झौताअनुसार कार्यक्रमको सुरुवात मोरङको रंगेलीबाट गरिएको हो ।
शिविरको शुभारम्भ वल्र्डवाइड डक्टर्स, टर्कीका डा. फातिह कप्लान र विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पद्मनारायण चौधरीले संयुक्त रूपमा गरेका थिए ।
कार्यक्रममा विराटनगर आँखा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। ललित अग्रवालले निःस्वार्थ भावनाका साथ सेवा प्रदान गर्दै शिविर सफल बनाउन योगदान गर्ने विशेषज्ञ चिकित्सक, प्राविधिक टोली, स्वयंसेवक तथा सम्बन्धित सबैप्रति आभार व्यक्त गरे ।
अस्पतालका प्रबन्धक कुमार पृथुले शिविरमार्फत समुदायमा रहेका विभिन्न प्रकारका आँखा समस्याको समयमै पहिचान, उपचार तथा आवश्यक परामर्श उपलब्ध हुने भएकाले रंगेली तथा आसपासका पालिकाका नागरिकलाई गुणस्तरीय आँखा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
विराटनगर आँखा अस्पतालले वार्षिक रूपमा करिब ७ लाख बिरामीको आँखा परीक्षण गर्दै आएको छ भने करिब ७२ हजार जनालाई शल्यक्रिया सेवा प्रदान गर्दै आएको छ। अस्पतालका अनुसार प्रदान गरिने कुल सेवामध्ये करिब ५४ प्रतिशत सेवा समुदायमा आधारित आँखा स्वास्थ्य कार्यक्रममार्फत उपलब्ध हुँदै आएको छ ।
Shares