अर्थमन्त्रीमा बिष्णु पौडेलको चर्चापछि नेप्सेमा दोस्रो सर्किट
अर्थमन्त्रीका रुपमा एमाले उपाध्यक्ष विष्णु पौडेले आउने चर्चापछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा पोजेटिभ सर्किट ब्रेक लागेको छ । कारोबारको सुरुवातमै नेप्से ५.०३ प्रतिशतले बढेर २०९८.६९ को अंकमा पुगेको छ ।
सोमबार बजार खुलेको ३ मिनेटमै नेप्से परिसूचक ४.०४ प्रतिशतले बढेर सर्किट ब्रेक लागेर २० मिनेटका लागि बजार बन्द भएको थियो ।
बिगतमा समेत बिष्णु पौडेल अर्थमन्त्री हुँदा नेप्सेमा सकारात्मक उछाल आउने गरेको थियो । शेयरबजार खुलेको एक घण्टाअघि नेप्से परिसूचक ४ प्रतिशतले बढ्दा २० मिनेटलाई ब्रेक लाग्छ । भने, २ घण्टाअघि ५ प्रतिशतले बढ्दा ४० मिनेटका लागि ब्रेक लाग्छ र ६ प्रतिशतले बढेमा दिनभरिको कारोबारमा ब्रेक लाग्ने गर्दछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि सरकार पुर्नगठनको तयारी थालिएको हो ।
गठबन्धनमा फेरबदलसँगै आज सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाँदैछन् ।
Shares