दस महिनामै थपियो चार खर्ब विदेशी मुद्रा

अर्थकागज
प्रकाशित: २९ जेठ २०८१
Image description

काठमाडौँ । कुनै समय छ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा भने अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ । सञ्चिति खस्किएर टाट पल्टिएको श्रीलङ्कासँग तुलना हुने गरेको अवस्थाबाट नेपालको बाह्य अर्थतन्त्र सबैभन्दा बलियो स्थितिमा पुगेको राष्ट्र बैङ्कको पछिल्लो प्रतिवेदनले देखाएको छ ।

प्रतिवेदनका अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा नियमित रूपमै थुप्रिन थालेको छ । चालु आवको वैशाखसम्मको तथ्याङ्क समेटेको उक्त प्रतिवेदनले समीक्षा महिनासम्म मुलुकसँग १९ खर्ब ४२ अर्ब ४० करोड रुपियाँ अर्थात् १४ अर्ब ५४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चित छ । यस्तो सञ्चितिमध्ये २२.१ प्रतिशत हिस्सा भारतीय मुद्राको रहेको छ भने बाँकी अमेरिकी डलर रहेको छ ।

चालु आव १० महिनामै मुलुकसँग चार खर्ब रुपियाँभन्दा बढी विदेशी मुद्रा थपिएको प्रतिवेदनमा उल्लेख छ । २०८० असार मसान्तसम्म १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ विदेशी मुद्रा रहेको पछिल्ला १० महिनामा २६.२ प्रतिशतले सञ्चिति बढेको हो ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैङ्कसँग मात्रै १७ खर्ब २२ अर्ब दुई करोड रुपियाँ रहेको छ भने राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थासँग एक खर्ब ९३ अर्ब ५९ करोड रुपियाँ विदेशी मुद्रा सञ्चित छ । सञ्चित कुल विदेशी मुद्राबाट अहिलेको औसतमा १२ महिना १८ दिनको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैङ्कको अनुमान छ । त्यस्तै उक्त सञ्चितिले १५ महिना तीन दिनको वस्तु आयात धान्न पुग्ने प्रतिवेदनमा उल्लेख छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर