युएईलाई हराउँदै नेपाल १० वर्षपछि टि २० विश्वकपमा
नेपालले आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा पुगेको छ ।
आइसिसी टी-२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा जित निकालेर फाइनलमा पुगेसँगै नेपाल १० वर्षपछि टी-२० विश्वकपमा छनोट भएको हो। नेपालले २०१४ मा पहिलो टि२० विश्वकप खेलेपनि त्यसपछि पुन खेल्न सकेको थिएन ।
युएईले दिएको १३५ रनको लक्ष्य नेपालले १७.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको छ । रोहित पौडेल २० बलमा २ चौका र २ छक्कासहित ३४ रनमा नट आउट रहे । नेपालका आसिफ शेख ५२ बलमा ७ चौका र १ छक्कासहित ६४ रनमा नट आउट रहे ।
नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ३ ओभरमा २६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर निलांश केस्वानीको बलमा ठूलो सर्ट खेलेका कुशल भुर्तेल लङअनमा मोहम्मद वासिमबाट ११ रनमा क्याच आउट भए । भुर्तेलले ८ बलमा २ चौका हानेका थिए ।
दोस्रो विकेटका लागि गुलशन झा र आसिफ शेखले ४१ रनको साझेदारी गरेका थिए । बासिल हामिदले दशौं ओभरको तेस्रो बलमा गुलशनलाई २२ रनमा बोल्ड आउट गरे । गुलशनले २४ बलमा ३ चौका प्रहार गरे । युएईका निलांश केस्वानी र बासिल हामिदले समान एक एक एक विकेट लिए ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको थियो । त्यो जितको लागि पर्याप्त थिएन ।
युएईका वृत्य अरविन्दले ५१ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । अन्य कुनैपनि युएईका खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।चौथो ओभरको पहिलो बलमा खालिद शाह ३ रनमा रन आउट भए । तीव्र गतिका बलर सोमपाल कामीको बलमा ननस्ट्राइकबाट दौडनेक्रममा उनी आउट भएका थिए । सोमपालले नै रन आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
सोमपालको चौथो ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका वासिम डिप मिडविकेटमा करण केसीबाट क्याच आउट भए । वासिमले १६ बलमा ३ चौका र २ छक्कासहित २६ रनको आक्रामक इनिङ खेलेका थिए । त्यो विकेट नै खेलको टर्निङ प्वाइन्ट बनेको थियो ।
सन्दीपले १० औं ओभरको अन्तिम बलमा आसिफ खानलाई १३ रनमा एलबीडब्लू आउट गरे । कुशल मल्लको १४ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेलेका एलिशान शराफु १६ रनमा लङअफमा सोमपाल कामीबाट क्याच आउट भए । शराफुले १४ बल खेल्दा ३ चौका हानेका थिए ।
Shares