बैंकमा निक्षेप बढ्दा कर्जा प्रवाह सुस्त


काठमाडौ । चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनामा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप चार खर्ब नौ अर्ब चार करोड अर्थात् ७.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन खर्ब ५५ अर्ब ८९ करोड अर्थात् ७.० प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थामा रहेको निक्षेप १२.५ प्रतिशतले बढेको छ । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.२ प्रतिशत, २९.१ प्रतिशत र ५८.९ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.० प्रतिशत, २५.७ प्रतिशत र ६०.१ प्रतिशत रहेको थियो । २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.७ प्रतिशत रहेको छ । २०७९ चैत मसान्तमा यस्तो निक्षेपको अंश ३६.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा दुई खर्ब २२ अर्ब २१ करोड अर्थात् ४.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब ६१ अर्ब ९८ करोड अर्थात् ३.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।
२०८० चैत मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ४.७ प्रतिशतले, विकास बैङ्कहरूको ४.२ प्रतिशतले र वित्त कम्पनीको कर्जा प्रवाह ५.५ प्रतिशतले बढेको छ ।
Shares