लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गरेकोमा आपत्ति जनाएको छ । सरकारले २०८३ भदौ ५ गते शुक्रबार गतेको निर्णय तत्काल फिर्ता लिन शाखाले माग गरेको छ । सञ्चारमाध्यमको आर्थिक स्थायित्व र पत्रकारको पेशागत सुरक्षासँग प्रत्यक्ष जोडिएको लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै शाखाले निर्णय सच्याउन सरकारलाई आग्रह गरेको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव रमेश कुमार बोहोराले २०८३ भदौ १३ गते शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णयप्रति घोर आपत्ति जनाउँदै यस्तो निर्णयले विशेषगरी साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमलाई थप आर्थिक संकटमा पार्ने उल्लेख गरिएको छ । सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने यसप्रकारका अलोकतान्त्रिक र अपरिपक्व निर्णयले सञ्चार संस्था बन्द हुने, पत्रकारले रोजगारी गुमाउने तथा नागरिकको सूचनाको अधिकारसमेत प्रभावित हुन सक्ने शाखाको ठहर छ ।
लोकतन्त्रको चौथो अंगका रूपमा नागरिकलाई सूचना प्रवाह गर्दै सरकारका नीति, निर्णय र गतिविधिमाथि निरन्तर खबरदारी गर्दै आएका सञ्चारमाध्यमलाई प्रोत्साहन र संरक्षण गर्नुपर्ने समयमा उल्टै आर्थिक रूपमा कमजोर बनाउने निर्णयले सरकारको लोकतान्त्रिक चरित्रमाथि गम्भीर प्रश्न उठाएको काठमाडौं शाखाले जनाएको छ ।
महासंघले लोककल्याणकारी विज्ञापनलाई कुनै सरकार, मन्त्री वा राजनीतिक दलको कृपाका रूपमा बुझ्न नहुने स्पष्ट पारेको छ । नागरिकसम्म सार्वजनिक सूचना पुर्याउने राज्यको दायित्व पूरा गर्न सञ्चारमाध्यमले निर्वाह गरेको भूमिकाको संस्थागत सम्बोधनका रूपमा लोककल्याणकारी विज्ञापनलाई लिनुपर्ने शाखाको भनाइ छ ।
सरकारी निर्णय र गतिविधिमाथि आलोचनात्मक प्रश्न उठाउने सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर पार्ने वा सरकारी विज्ञापनलाई नियन्त्रणको माध्यम बनाउने कुनै पनि प्रवृत्ति प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष हस्तक्षेप हुने महासंघले जनाएको छ । प्रेसलाई आर्थिक रूपमा कमजोर बनाएर सरकार बलियो बन्न नसक्ने तथा आलोचनात्मक आवाज दबाएर लोकतन्त्र सुदृढ हुन नसक्ने विज्ञप्तिमा उल्लेख छ ।
महासंघ काठमाडौं शाखाले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय तत्काल फिर्ता लिन, सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने निर्णय पुनरावलोकन गर्न तथा सरकारी विज्ञापन वितरणमा पारदर्शी, समानुपातिक र न्यायपूर्ण प्रणाली सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
त्यस्तै, साना लगानी तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको संरक्षणका लागि तत्काल प्रभावकारी नीति ल्याउनसमेत शाखाले सरकारको ध्यानाकर्षण गराइएको छ । लोककल्याणकारी विज्ञापनको रकम कटौतीले ठूलो संख्यामा रहेका साना तथा स्वरोजगारमूलक सञ्चारमाध्यमको सञ्चालनमै असर पार्न सक्ने भन्दै शाखाले त्यस्ता सञ्चारमाध्यमको संरक्षणलाई प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको हो ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले सरकारलाई निर्णय नसच्याए चरणबद्ध आन्दोलनमा जाने चेतावनीसमेत दिएको छ । सरकारबाट तत्काल निर्णय फिर्ता नभए देशभरका पत्रकार, सम्पादक, प्रकाशक, सञ्चारमाध्यम तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर संघ–संस्थासँग समन्वय र सहकार्य गरी चरणबद्ध, सशक्त आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने शाखाले जनाएको छ ।
शाखाले आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने चेतावनीसमेत दिएको छ ।
शाखाले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारको अव्यवहारिक निर्णय तत्काल फिर्ता गर्न, सञ्चारमाध्यममाथिको आर्थिक हस्तक्षेप बन्द गर्न तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न सरकारसँग जोडदार माग गरेको छ ।
Shares