पहिचानवादीको बन्दको प्रभाव शुन्य
उदयपुर । कोशी प्रदेशको नामाकरणका विरुद्ध पुनः प्रदेशको नामाकरणको माग गर्दै आन्दोलन गरिरहेका पहिचानवादीहरुले एमालेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धि यात्रामा कोशी प्रदेशमा अवरोध गर्ने पहिचानवादी कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा कोशी प्रदेश बन्दको आव्हानले उदयपुरमा कुनै असर गरेको छैन ।
यही मंसिर २६ गते कोशी प्रदेश प्रवेश गरेको एमालेको समृद्धि यात्रामा कालो झण्डा देखाउनेहरु र सडकमा रुख ढालेर अवरोध गर्नेहरुलाई प्रहरीले पक्राउ गरेकोमा केहीलाई छाडेको भए पनि ३१ जनालाई खोटाङ, भोजपुर, झापा, सुनसरी लगायतका जिल्लाबाट पक्राउ गरिएको थियो । सो पक्राउको विरोधमा छाड्न दवाव दिने उद्देश्यले बन्द आव्हान गरिएको हो ।
प्रत्येक शनिवार गाईघाट बजार त्रियुगा उद्योग वाणिज्य संघले बन्द गर्ने निर्णय गरेको छ । तर पनि फाट्ट फुट्ट बजारका पसलहरु संचालन हुने गरेको थियो । तर आजको शनिबार भने बन्द आव्हान कर्ताको विरुद्धमा बजार खुलेको देखियो ।
यहाँका स साना तथा ठूला पसलहरुमा निर्वाध रुपमा सामान किनमेल भैरहेको देखिएको छ भने साना ठूला सवारी साधनहरु पनि निर्वाध रुपमा संचालन भएको छ । चोकहरुमा प्रहरीले सुरक्षा दिइरहेको देखिन्छ । गाईघाट पूर्वबाट मदन भण्डारी लोकमार्ग हुँदै काठमाण्डौ जाने सवारी साधनहरु पनि संचालन भैरहेको छ । विहानैदेखि चहलपहल पुरानै लयमा रहेको छ । पहिचानवादीको आन्दोलनले गाईघाट बजारलाई कुनै प्रभाव नपारेको स्थानीय व्यवसायी तथा राजनीतिक कर्मीहरुले बताएका छन् ।
दैनिक रुपमा ज्याला मजदुरी गरेर साँझ बिहानको छाक टार्नेहरु सडकमा कामको खोजीमा रहने गरेको अवस्थामा आव्हान गरिएको बन्दको कुनै औचित्य नै नभएको श्रमिकहरुले बताएका छन् । ठेला गाडामा सानो तिनो व्यापार व्यवसाय गर्ने तथा चिया चना बिक्री गरेर वा ठेला चलाएर साँझ बिहान जीवन निर्वाह गर्नेहरुलाई बन्दले बढी असर गर्ने गरेको भए पनि यो पटक भने बन्दको कुनै पर्वाह नगरी आ आफ्नो व्यापार व्यवसायमा सबै लागेको देखिन्छ ।
Shares