४.६ मेगावाटको सुपर मच्छा खोला जलविद्युत् आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले लगानी गर्ने
काठमाडौं । गोरखा स्थित धार्चे नगरपालिका-४, लाप्रकमा निर्माण हुने ४.६ मेगावाट सुपर मच्छा खोला जलविद्युत् आयोजनाका लागि वित्तीय लगानी जुटेको छ । यस आयोजनामा राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने भएपछि सम्झौतामा हस्ताक्षर गरिएको छ। सम्झौतामा बुढीगण्डकी जलविद्युत् प्रा. लि. का अध्यक्ष खगेन्द्र न्यौपाने र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रामन खनालले हस्ताक्षर गरेका छन्। परियोजनाको कुल अनुमानित लागत कुल ९६ करोड ३८ लाख ३० हजार रुपैयाँ रहेको छ। जसमा ७० प्रतिशत ऋण मार्फत र बाँकी ३० प्रतिशत शेयर लगानी मार्फत व्यवस्था गरिनेछ। प्रवद्धर्क कम्पनीका अनुसार ऋण लगानीतर्फ राष्ट्रिय वाणिज्य बंकै लिमिटेडले ६७ करोड ४६ लाख ८० हजार रुपैयाँ लगानी गर्नेछ। बाँकी २८ करोड ९१ लाख ५० हजार रुपैयाँ स्वपूँजी लगानी हुनेछ । आयोजनाबाट वार्षिक २७.३७९ गिगावाट आवर विद्युत्पादन हनुः छ । वर्षामा १८.६२१ गिगावाट आवर र हिउँदमा ८.७५ गिगावाट आवर बिजुली उत्पादन हुनेछ ।
कम्पनी अध्यक्ष खगेन्द्र न्यौपाने, प्रबन्ध निर्देशक कृष्ण प्रसाद घिमिरे, निर्देशक सरोज धिताल, जोन घले, ईन्द्र बहादुर ढकाल, र बिनोद थापा सहितकोअनुभवी समूहलेआयोजना निर्माण गर्न लागेका हुन् ।
यो समूहले यसअघि सोहि क्षेत्रमा ४.५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा गरिसकेको छ । साथै, कम्पनीको प्राथमिक शेयर निष्कासन (आईपीओ) तत्काल जारी गर्ने प्रक्रियामा रहेको जनाएको छ । हाईड्रोपावरमा अनुभव बटुलिसकेका योसमूहलेयस बूढीगण्डकी हाईड्रोपावर आगामी १८ महीना भित्र सञ्चालनमा ल्याउने जनाएको छ । आयोजनाको नेपाल विद्युत् प्राधिकरणसँग २०८० असार २१ मा विद्युत् खरिद विक्री सम्बन्धि सम्झौता भएको थियो । साथै आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिसकेको कम्पनीले जनाएको छ । आयोजनाको प्रसारण लाइनलाई विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सब-स्टेसनमा जोडिने छ । थप २२ मेगावाट क्षमताको जल्दिगाढ हाईड्रोपावर बनाउने पनि निर्माण थाल्ने कम्पनीले जनाएको छ ।
Shares