गेटा आँखा अस्पतालद्धारा बैतडी र दार्चुलामा ५६८ जनाको निःशुल्क शल्यक्रिया

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८१
Image description

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालले दार्चुला र बैतडी जिल्लाका विभिन्न स्थानमा संचालन गरेको शल्यक्रिया शिविर मार्फत ५ सय ६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको छ ।

दुई जिल्लाका विभिन्न स्थानमा ३ हजार ३ सय ७२ जनाको आँखा परिक्षण गर्दा मोतिबिन्दु देखिएको ५५५ जना र अन्य समस्या रहेका १३ जना गरी कुल ५६८ जनाको आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो ।

गेटा आँखा अस्पतालका नेत्र अधिकृत नरेन्द्र बिष्टका अनुसार बैशाख १६ देखि २५ सम्म दार्चुलाको खलङ्गा, गोकुलेश्वर र मार्मामा शिविर संचालन गरिएको थियो । खलङ्गामा संचालित शिविरमा १ हजार २ सय ४ जनाको आँखा परिक्षण गरी २ सय २ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया, गोकुलेश्वरमा संचालित शिविरमा ९ सय १३ जनाको आँखा परिक्षण गरी १७१ जनाको मोतिबिन्दु र ४ जनाको अन्य समस्याको शल्यक्रिया र मार्मामामा संचालित शिविरमा ६ सय ९० जनाको आँखा परिक्षण गरि ५५ जनाको मोतिबिन्दुको र ३ जनाको अन्य गरी जम्मा ५८ जनाको शल्यक्रिया गरिएको बिष्टले बताए ।

त्यसै गरी बैतडी जिल्लाको गोठालापानीमा बैशाख २७ र २८ गते संचालित शिविरमा ५ सय ६५ जनाको आँखा परिक्षण गरी १२७ जनाको मोतिबिन्दु र ३ जनाको अन्य समस्याको शल्यक्रिया गरिएको बिष्टले बताए ।

गेटा आँखा अस्पतालका चिफ मेडिकल डाईरेक्टर डा.सुरेसराज पन्त र जलबिन्दु रोग विशेषज्ञ डा. स्मध अधिकारीको नेतृत्वमा गएको स्वास्थ्यकर्मीहरुको टोलीले आँखा शिविर संचालन गरी शल्यक्रिया गरेको हो ।

रोटरी क्लब अफ इलभेरम नर्वे, फ्रेड हलोज फाउन्डेशन र मार्मा गाँउपालिकाको आर्थिक सहयोग तथा महाकाली नगरपालिका, शल्यशिखर नगरपालिका, नेपाल नेत्रज्योति संघ जिल्ला शाखा बैतडी तथा दार्चुलाको समन्वयमा शिविर संचालन गरिएको हो ।

अस्पतालले बार्षिक रुपमा शुदुरपश्मि प्रदेशका पहाडी जिल्लाहरुलाई लक्षित गरी हरेक बर्ष निःशुल्क शल्यक्रिया सहितको शिविरको आयोजना गर्दछ । अस्पतालका अनुसार गत आर्थिक बर्षमा अस्पतालले शल्यक्रिया शिविर मार्फत १४ हजार ९ सय ७३ जनाको आँखा परिक्षण गरी २ हजार ५ सय ६९ जनाको निःशुल्क शल्यक्रिया गरेको थियो ।

नेपाल नेत्रज्योति संघले आफ्ना २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखाहरु मार्फत पहुँच र आर्थिक अभावमा कोहि पनि नागरिकहरु आँखा उपचारबाट बन्चित नहुन भन्ने उद्देश्यले विभिन्न विकास साझेदार, नेपाल सरकार तथा स्थानिय निकायहरुहरुसंगको सहकार्यक्रमा देशैभरी निःशुल्क आँखा शिविरहरुको आयोजना गर्ने गर्दछ ।

स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरि ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर