एभरेष्ट बैंक: आम्दानीसँगै खुद नाफा पनि बढ्यो, अन्य सूचक कस्तो ?

अर्थकागज
प्रकाशित: ०६ माघ २०८१
Image description

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.४६ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १७.६९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ ५८ पैसा रहेको छ। १२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ। पुस मसान्तसम्ममा बैंकले २ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।



प्रतिक्रियाहरू

सम्बन्धित खबर