हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १२ असार २०८२
Image description

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडले निश्कासन गरेको आईपीओमा आवेदन आज अन्तिम दिन रहेको छ । कम्पनीले जेठ ३० गतेदेखि बिक्री खुला गरेको आईपीओ भोली असार १४ गते बन्द गर्ने भएकोले आज (असार १३ गते) आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निश्कासन गरेको आईपीओ आज बैंकिङ्ग अवधिपछि बन्द हुने भएको हो।

यस कम्पनीले जारी पूँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँका दरले निश्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

जसमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणमा निश्कासन गर्न गरेको हो ।

क कसले आवेदन दिन पाउँछ ?

आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन्।

वैदेशिक रोजगारीका लागि छुट्याइएको आईपीओमा भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूले आवेदन दिन सक्नेछन्। यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ।

यसमा आवेदन दिने अन्तिम मिति असार १३ गतेसम्म रहेको छ। तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा असार २९ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

स्थानिय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

साथै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितले आवेदनका लागि दरखास्त फाराम बापत २ रूपैयाँ तिर्नु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले प्रथम चरणको आईपीओ निश्कासन गरेर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि जारी गर्नेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर