सर्वोत्तम सिमेन्टलाई बुक विल्डिङमार्फत आईपीओ निष्कासन गर्न सेवोनको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न सर्वोत्तम सिमेन्टलाई अनुमति दिएको छ ।
कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको कुल ३६ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँको दरले आइपीओ बिक्री गर्नेछ । सर्वोत्तमले यसअघि प्रतिकित्ता ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँसम्म बिक्री मूल्य सीमा तोकेर योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता सेयर बोलकबोल गरेको थियो ।
उक्त बोलकबोलमा ४०१ रुपैयाँ कट अफ मूल्य निर्धारण गरेर संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरिएको थियो ।बुक विल्डिङमार्फत आइपीओ बिक्री गर्न संस्थागत लगानीकर्ताले पेश गरेको बोलपत्रका आधारमा कायम भएको कट अफ मूल्यबाट १०% घटाएर सर्वसाधारणलाई आइपीओ जारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
सोही आधारमा कायम भएको मूल्यमा आइपीओ बिक्री गर्न सर्वोत्तमले बोर्डबाट अनुमति पाएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
Shares