राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त सिइओ खनालले गरे पदभार ग्रहण

अर्थकागज
प्रकाशित: २०८१-२-१३
Image description

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । खनालले बैंक सञ्चालक समितिका अध्यक्ष दिलीपकुमार ढुंगानाबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

२ जेठमा बसेको सञ्चालक समितिको बैठकले खनाललाई बैंकको प्रमुख कार्यकारी अधिकृत पदमा चार वर्षका लागि नियुक्त गरेको हो । पदभार ग्रहण गर्दै खनालले सरकार, राष्ट्र बैंक तथा बैंकले लिएको नीतिको कार्यान्वयन गरी नागरिकमा गुणस्तरीय सेवा प्रवाह गर्दै सबै सरोकारवालाले पाउने हिस्सामा वृद्धि हुने गरी काम गर्ने बताए ।

चार्टर्ड एकाउन्टेन्ट खनाल यसअघि बैंकको कामु सिइओ थिए । ०६४ सालमा चार्टर्ड एकाउन्टेन्टका रूपमा प्रवेश गरेका खनाल व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा एलएलबी उत्तीर्ण हुन् । यसअघि रिक्त रहेको सिइओ पदमा खुला प्रतिस्पर्धाबाट छनोट गरी नियुक्त गर्न बैंकले दरखास्त आवेदन माग गरेको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर