नेपाली ठग्न ‘हाइपर फन्ड’ को जालो
काठमाडौँ । भर्चुअल मुद्रा ‘हाइपर फन्ड’ मा लगानी गरे २० गुणासम्म फाइदा हुने प्रलोभनमा परी काठमाडौँ बस्दै आउनुभएकी इलामकी ६४ वर्षीय कमला न्यौपाने ९नाम परिवर्तन० ले २९ लाख ३८ हजार रुपियाँ गुमाउनुभयो । सामान्य मोबाइलसमेत चलाउन नजान्ने न्यौपानेले सो रकम छिमेकीमार्फत ‘हाइपर फन्ड’ मा लगानी गर्नुभएको थियो ।
सन् २०२१ मा वैदेशिक रोजगारीका क्रममा इजरायल पुग्नुभएकी दोलखा जिरीकी नुर्वु शेर्पा ९नाम परिवर्तन० का दम्पतीले सम्पूर्ण कमाइ एक करोड ३६ लाख २४ हजार ‘हाइपर फन्डमा गुमाउनुभयो । यही कारण परिवारमा बेमेल बढ्ने डरले शेर्पा आफ्नो पीडा खुलेर भन्नसमेत सक्नुहुन्न ।
पेसाले शिक्षिका कैलाली, धनगढीकी कमला पुरी ९नाम परिवर्तन० ले आफ्नो कमाइको सम्पूर्ण रकम र सहकारीबाट ऋणसमेत लिई २२ लाख २८ हजार पाँच सय रुपियाँ ‘हाइपर फन्ड’ मा गरेको लगानी डुब्यो । वैदेशिक रोजगारीका क्रममा माल्दिभ्समा रहनुभएकी चितवनकी शान्ति भण्डारी ९नाम परिवर्तन० ले १० लाख २० हजार पाँच सय रुपियाँ र इजरायलमा बस्ने सालीको विश्वासमा परेर म्याग्दी बेनीका श्यामबहादुर केसी ९नाम परिवर्तन० ले ३१ लाख ७० हजार रुपियाँ ‘हाइपर फन्ड’ मा गुमाउनुभयो ।
यी यस्तो ठगीका केही प्रतिनिधि घटना मात्र हुन् । नेटवर्किङ शैलीमा ‘हाइपर फन्ड’ भनिने भर्चुअल लगानी प्लेटफर्मबाट रातारात कमाउने प्रलोभनमा परी स्वदेश तथा विदेशमा बस्ने सयौँ नेपाली ठगिएको पाइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका आफन्त र चिनजान व्यक्तिलाई विदेशमै बसेर ठगी गर्ने गिरोहमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले अनुसन्धान अघि बढाएको छ ।
ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार जोसियल, सोलेम्याक्स, क्राउड वान, सिआरयु, विन्टर जस्ता भर्जुअल प्लेटफर्ममार्फत विदेशमा बसेर नेपालीलार्ई ठगी गर्नेमाथि अनुसन्धान अगाडि बढाइएको हो । सिआइबीको प्रारम्भिक अनुसन्धानमा ‘इजरायल र अस्ट्रेलियामा रहेका नेपालीलाई लक्षित गरी २० गुनासम्म कमाइ हुने प्रलोभनमा पारी कतिपय पीडितलाई घरजग्गा धितो राखेरसमेत हाइपर फन्डमा लगानी गर्न लगाइएको खुलेको छ ।
कतार र दुबईलगायतका खाडी देशका नेपाली कामदारलाई पनि यस्तो प्रलोभनमा पारिएको र पीडितको सङ्ख्या हजारौँ हुन सक्ने अनुमान ब्युरोको छ । जुम, टेलिग्राम, ह्वाट्सएप र म्यासेन्जर जस्ता भर्चुअल प्लेटर्फममार्फत ग्रुप बनाई बेलायत, पोर्चुगल, दक्षिण कोरियादेखि मलेसिया र खाडीमा काम गरिरहेका ठुलो सङ्ख्या नेपाली ठगीको जालेमा फसेको ब्युरोले जनाएको छ ।
पिरामिड शैलीमा एकबाट अर्को गरी नेटवर्किङ शैलीमा हाइपर फन्डबाट ५६ जनाले झन्डै सात करोड रुपियाँ ठगिएको भन्दै ब्युरोमा उजुरी परेको छ । उजुरीकर्तामध्ये अधिकांश वैदेशिक रोजगारबाट फर्केका, आफन्त र चिनजानका रहेको पाइएको ब्युरोले जनाएको छ । नेपालमा हाइपर फन्डमा लगानी र कारोबार अवैध रहे पनि विदेशमा बस्ने नेपालीले गिरोहको एजेन्टका रूपमा दोस्रो देशमा बस्ने नेपालीलाई ठगी गर्दै आएको खुलेको छ ।
३५ जनाविरुद्ध पक्राउ पुर्जी जारी हाइपर फन्डमार्फत स्वदेश तथा विदेशमा रहेका नेपालीलाई इजरायलमा बसेर ठगी गर्ने ‘ब्लक चेन टेक्नोलोजी’ का मुख्य सञ्चालक काजल भनिने नानु घिमिरेलाई प्रहरीले गत वैशाख २० गते काठमाडौँबाट पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।
सय गिरोहका योजनाकार पोर्चुगल बस्ने योगेन्द्र मिलन छन्त्याल, रिनुमाया तामाङ, बेलायत बस्ने कुमार गुरुङ, रोशन भनिने देवीप्रसाद पोखरेल, ललितकुमार न्यौपाने, कुमारकान्त भण्डारी, देवेन्द्र गौतमलगायत ३५ जनाविरुद्ध प्रहरी मुख्यालयले इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गर्ने तयारी गरेको छ । अनुसन्धानमा संलग्न सिआइबीका एक अधिकारीका अनुसार यो गिरोहले सन् २०२१ देखि विदेशमा बसेर योजनाबद्ध रूपमा नेपालीलाई ठगी गरेको पाइएको छ । गोरखापत्र दैनिकबाट ।
Shares