अधिकांश भागको मौसम आज सफा रहने पूर्वानुमान

अर्थकागज
प्रकाशित: २४ वैशाख २०८२
Image description

काठमाडौं । हाल नेपालमा पश्चिमी तथा स्थानीय वायु प्रणालीको प्रभाव कायमै रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावाको आंशिक प्रभाव पनि देखिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। देशका बाँकी क्षेत्रहरूमा भने मौसम सामान्यतया सफा रहने सम्भावना छ।

दिउँसोको समयमा विशेषगरी देशका पहाडी तथा हिमाली भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। साथै, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ। आज राति पनि पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था रहनेछ। देशका एकदुई पहाडी स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वा मध्यम वर्षा हुनसक्ने सम्भावना छ भने हिमाली क्षेत्रमा कतिपय स्थानमा हल्का वर्षा र हिमपात समेत हुने संकेत देखिएको छ।

मौसमविद्हरूले विशेषगरी उच्च भूभागमा यात्रा गर्नेहरू तथा कृषक वर्गलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित खबर