सेयर बजारमा ठूला लगानीकर्ताको प्रवेश बढ्दै
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा १ करोड रुपैयाँभन्दा माथिको मार्जिन प्रकृतिको (सेयर धितो कर्जा) रकममा उल्लेख्य वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने व्यक्तिका साथै संस्थागत लगानीकर्ताहरुले ठूलो मात्रामा सेयर धितो कर्जा लिएको बुझ्न सकिन्छ । चालु आर्थिक वर्षको माघसम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित १ करोडभन्दा माथिको सेयर कर्जा गत वर्षको सोही समयको तुलनामा ४६.१७ प्रतिशतले बढेको राष्ट्र बैंकले प्रकाशित गरेको रिपोर्टमा उल्लेख छ । माघ मसान्तसम्ममा प्रवाह भएको १ करोड रुपैयाँमाथिको सेयर कर्जा ७६ अर्ब ४० करोड १४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा भने बैंक–वित्तीय संस्थाले १ करोड माथिको सेयर कर्जा ५२ अर्ब २६ करोड ९५ लाख रुपैयाँ प्रवाह गरेका थिए । यो १ वर्षको अवधिमा १ करोडभन्दा माथिको सेयर धितो कर्जा २४ अर्ब १३ करोड २४ लाख रुपैयाँ थपिएको हो । यता, चालु आर्थिक वर्षको पहिलो ७ महिनाको अवधिमा मात्र १ करोड माथिको सेयर कर्जा ३६.६ प्रतिशत अर्थात २० अर्ब ४७ करोड १२ लाख रुपैयाँ थपिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । यता, माघ मसान्तसम्म आइपुग्दा बैंक–वित्तीय संस्थाहरुले समग्रमा १ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरे गरेका छन् । यस आधारमा, कुल सेयर धितो कर्जामध्ये १ करोड माथिको कर्जाको हिस्सा ६६.३७ प्रतिशत रहेको देखिन्छ ।
केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत केही लचिलो नीति लिएपछि सेयर कर्जा बढ्दै गएको छ । राष्ट्र बैंकले चालु मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्ताको मार्जिन प्रकृतिको सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गरेको थियो । साथै, राष्ट्र बैंकले सेयर धितोको जोखिम भार घटाएपछि कर्जा प्रवाहमा सकारात्मक सुधार भएको हो । यता, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको सेयर धितो कर्जामा पनि उल्लेख्य सुधार भएको देखिन्छ । माघ मसान्तसम्म यस्तो कर्जा १४ अर्ब ५४ करोड २२ लाख रुपैयाँ प्रवाह भएको छ, जुन गत वर्षको सोही अवधिमा ११ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ रहेको थियो । १ वर्षको अवधिमा यस्तो कर्जा २ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ अर्थात २२.०५ प्रतिशतले वृद्धि भएको हो । यस्तै, २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा गत वर्षको १३ अर्ब ८४ करोड ७८ लाख रुपैयाँबाट बढेर चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १६ अर्ब २५ करोड ३४ लाख रुपैयाँ पुगेको छ । १ वर्षमा यस्तो कर्जा २ अर्ब ४० करोड ५६ लाख रुपैयाँ अर्थात १७.३८ प्रतिशतले बढेको देखिन्छ । अर्कोतर्फ, २५ लाख रुपैयाँभन्दा तलको सेयर धितो कर्जा भने गत वर्षको ७ अर्ब १३ करोड ९४ लाख रुपैयाँको तुलनामा ७७ करोड ३९ लाख रुपैयाँ (१०.८४ प्रतिशत) ले मात्र बढेर चालु आवको माघ मसान्तमा ७ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ पुगेको छ ।
Shares