सरकारी नीति कै कारण फास्ट फूड अनि जंक फूड मार्काका कारोबारी बिच अलमलिएको सेयर बजार !
गत वर्ष हामी एशियन क्यापिटलका तीनजना प्रतिनिधिहरू एशियन लाईफ इन्स्योरन्सको पश्चिमाञ्चल ब्रान्च भिजिटको शिलशिलामा महेन्द्रनगरसम्म पुगेका थियौं । भ्रमणको उद्देश्य ईन्सुरेन्सका कर्मचारी तथा एजेन्टहरुसँगको व्यवसायिक रणनीति तथा सेयर बजार सम्बन्धि साक्षरता केन्द्रित थियो ।
हामीले सेयर बजारको विषयलाई लिएर करिव डेढ घण्टाको Presentation पनि तयार पारेका थियौ । नियमित कार्यक्रम सम्पन्न भए पश्चात अन्त्यमा उक्त Presentation लाई पस्कने नियमित कार्यक्रम हुन्थ्यो। नारायणघाट, बरघाट, बुटवल, तुलसीपुर, कोहलपुर, नेपालगञ्ज, भुरीगाँउ, टीकापुर, धनगढी हुँदै महेन्द्रनगरसम्म पुगेर सम्पन्न भएको कार्यक्रममा स्थानियको पनि उल्लेख्य सहभागिता रहेको थियो ।
पहिलो सेसन सकेर दोस्रो सेसन सुरु हुने बित्तिकै सहभागीहरुमा उत्सुकता र जिज्ञासाको भोक देखिन्थ्यो । वास्तवमा उनीहरू हामीले बनाएको पाठ्यक्रम सँगै बग्न चाहिरहेका थिएनन् । ९०% भन्दा बढी सहभागीहरु कुनै न कुनै रुपमा सेयर बजारसँग आवद्ध देखिन्थे ।
प्राय सहभागीहरुको साझा जिज्ञासा यस्तो थियो ;
• "अब कुन सेयर किन्ने सिधै भनिदिनु पर्यो ? "
• "अहिलेको लागि कुन सेक्टर उपयुक्त हुन्छ ? "
• "आफ्नो बचत अनि अलि अलि सापटी लिएर सेयर खरिद गर्ने बारे सोच्दैछु छोटो समय मै नाफा कमाउन के मा लगानी गर्ने होला ?"
• "हाम्रो समय पनि छैन , आफ्नै काममा व्यस्त हुन्छौं, अहिले तुरुन्तै सरहरुले पढाएको कुरा हाम्रो दिमागमा घुस्दैन पनि, अलि अलि सेयर कारोबार गर्दै आएकाछौं तसर्थ कुरा नघुमाई हाम्रो प्रश्नको उत्तर सिधै दिनुभए आभारी हुन्थ्यौं !'
यात्राको दौरान सेयर बजारलाई जानेर बुझेर लगानी गर्ने भन्दा पनि हल्ला र सूचनाको पछि लागेर तुरुन्तै कमाउने भोक अधिकांशमा देखियो ।
त्यस्तै गएको भाद्र महिनामा भक्तपुरस्थित एक सहकारीसँगको सहकार्यमा दीपेन्द्र प्रहरी स्कूल , साँगामा सेयर साक्षरता कार्यक्रम राखिएको थियो । कार्यक्रममा विभिन्न कलेजका झण्डै ४०० जना विद्यार्थी भाई बहिनीहरुको सहभागिता रहेको थियो । सांगीतिक प्रस्तुतिका क्रममा हुटिङ गरेर रमाउने भाई बहिनीहरु सेयर बजारको सेसनमा भने प्राय नुन खाएका कुखुरा झैं झोक्र्याउने गर्दथे ।
कार्यक्रमको अन्त्यमा "सेयर बजारसँग सम्बन्धित कुनै जिज्ञासा छ ?" भनेर प्रश्न गर्दा एकजना स्नातक पढ्ने भाइले पछाडिबाट हात उठाए, उनको हातमा माईक थमाउने बित्तिकै उनी उग्र भएर प्रश्न गर्न थाले " कृप्टो, बिट क्वाइन , 1X Bet लाई सरकारले किन बन्देज लगायो ? कारोबार गर्नेसँग कर लिएर अन्तराष्ट्रिय स्तरमा नै मान्यता पाएको प्लेटफर्मलाई किन मान्यता दिन चाहँदैन हाम्रो सरकार ?"
सरसर्ती हेर्दा पछिल्लो छोटो समय मै कमाउने भूत सबैमा चढेको देखिन्छ। भविष्यको लगानीप्रति लगानीकर्ता विश्वस्त देखिँदैनन् । कारण राज्यको अस्थिर नीति नियम नै पहिलो कारक हो।
अहिले बजारमा कतिपय कम्पनीको सेयर कारोबार नेतवर्थ भन्दा पनि कम मूल्यमा कारोबार भइरहेको छ भने रु १०० भन्दा कम नेटवर्थ भएका कम्पनीको बजार मूल्य दैनिक जसो सर्किट लागेर आकाश चुमिरहेका छन् । हुन त बजार मूल्य निर्धारण गर्ने भनेको बजारको माग र पूर्तिले नै हो । तैपनि माग र पूर्तिलाई नै दोष दिएर आधारभूत पक्ष बलियो भएका कम्पनीहरु निरिहको दर्जामा देखिनु पक्कै पनि राज्य संयन्त्र र सम्बन्धित सरोकारवाला निकायको गैर जिम्मेवारीपन र लाचारीपनाको पराकाष्टा हो ।
आधारभूत पक्ष सबल भएका ठूला कम्पनी नजुर्मुर्याएसम्म साना कम्पनी जति नै उफ्रीए पनि नेप्से सूचकलाई दिगो रुपमा माथि लैजान सक्दैनन् । यो अवस्थामा फास्ट फुड र जंक फुड प्रकृतिको कारोबार मै बजार नाचिरहने निश्चित प्रायः नै छ ।
सेयर बजारलाई अर्गानिक बजार बनाउन सरकारले गर्नुपर्ने पहलहरु :
• सबैभन्दा पहिलो कुरा त सरकार सेयर बजार लाई आफ्नै शरीरको एउटा अंगको दर्जा दिनु पर्यो ।
• अत्याधिक पूर्ति रहेको बजारको माग पक्ष बलियो बनाउन तिर ध्यान दिनु पर्यो । त्यसको लागि कुनै पहाड फोड्नु पर्दैन । तत्कालको लागि संस्थागतको लागि लागेको २० करोडको सीमा खारेजी , बैंक तथा वित्तीय संस्थालाई सेयर कारोबारको लागि लगाइएको लगामलाई खुकुलो पार्ने, सेयर कर्जाको जोखिम भारलाई १२५ बाट घटाएर १०० मा झार्नु पर्यो ।
अन्त्यमा,
जंक कारोबारीलाई अर्गानिक लगानीकर्ता बनाउन सबैभन्दा पहिले सरकारले विश्वासको वातावरण बनाउन जरुरी छ । जस अनुसार साना लगानीकर्ता देखि ठूला ठूला लगानीकर्तालाई आफ्नो लगानी सुरक्षित छ र भविष्यमा पनि सुरक्षित हुनेछ भनेर आश्वस्त हुने वातावरण सृजना गर्नु जरुरी छ । आखिर लगानी गर्नेले आफ्नो पूंजी लगानी गरेर कमाउँदा त्यसको भाग सरकार , नियामक निकाय देखि सम्बन्धित सरोकारवालाको पेटसम्म पुग्ने नै हो , अनि किन खुकुलो र लगानीमैत्री नीति नियमको लागि कञ्जुस्याईं सरकार ?
थैन्कु 😊
Shares