आज र भोलीसम्म देशका यी ठाउँमा पानी पर्ने
काठमाडौं । हाल कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीअन्तर्गतको तराईका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती, गण्डकीका केही स्थानमा, लुम्बिनी र कर्णालीका पहाडी भू-भागका थोरै स्थानमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भू-भागका थोरै स्थानमा समेत हल्का वर्षा/ हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
त्यसैगरी राति भने कोशी, मधेश, बागमती र गण्डकीलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका थोरै स्थानमा भने हल्का वर्षा/ हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।
मंगलबार पनि कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यस्तै कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा समेत हल्का वर्षा/ हिमपातको सम्भावना हुने विभागको भनाइ छ ।
Shares