चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि पर्ने, विहिबारदेखि भारी वर्षाको सम्भावना
काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा, भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात क्रमशः शक्तिशाली बन्दै गएको छ । यसको प्रभावका कारण कात्तिक १२ गते बिहीबारदेखि विशेषगरी कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मौसम प्रभावित हुने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ नामक चक्रवात हाल चक्रवाती आँधीबाट शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने क्रममा छ । यो प्रणाली अझ शक्तिशाली बन्दै जाने र क्रमशः उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना छ ।
कात्तिक ११ गते अर्थात् अक्टोबर २८ मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसपछि यसको प्रभाव नेपालमा समेत देखिन सक्ने मौसमविद्हरूको आकलन छ ।
शुक्रबार र शनिबार बढी असर पर्ने अनुमान
मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन देखिन सक्नेछ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ ।
यी दुई दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाको प्रभाव पहाडी र तराई क्षेत्रका विभिन्न स्थानमा देखिन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
हिमाली क्षेत्रमा हिमपात र हिमआँधीको जोखिम
चक्रवातको प्रभावका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहेको महाशाखाले जनाएको छ । विशेषगरी उच्च हिमाली भूभागमा जाने पर्यटकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा गर्न र जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ ।
वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने, सडक अवरुद्ध हुने तथा यातायात सेवा प्रभावित हुने सम्भावना छ । त्यसैगरी, तराईका केही स्थानमा समेत वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने अनुमान गरिएको छ । दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले सम्बन्धित निकाय तथा सर्वसाधारणलाई अनुरोध गरेको छ ।
किसान र ससाधारणलाई सतर्क रहन आग्रह
महाशाखाले धानबाली भित्र्याउने समय भएकाले वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न किसानलाई आवश्यक सावधानी अपनाउन सुझाव दिएको छ । वर्षाको पूर्वानुमानलाई ध्यानमा राखेर कृषि उपज सुरक्षित स्थानमा राख्ने तथा मौसमको अवस्था हेरेर कृषि कार्यको योजना बनाउन आग्रह गरिएको छ ।
महाशाखाले जारी गरेको नक्सामा विभिन्न क्षेत्रमा जोखिमको अवस्था फरक–फरक देखाइएको छ। रातो रङले तत्काल आवश्यक कदम चाल्नुपर्ने, सुन्तला रङले पूर्वतयारी गर्नुपर्ने, पहेँलो रङले अद्यावधिक सूचना लिइरहनुपर्ने र हरियो रङले विशेष चेतावनी नरहेको अवस्थालाई सङ्केत गरेको छ ।
मौसम पूर्वानुमान महाशाखाले चक्रवातको अवस्थाको निरन्तर निगरानी गरिरहेको र आवश्यकताअनुसार थप सूचना जारी गर्ने जनाएको छ । सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न तथा सम्भावित जोखिमबाट बच्न आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ ।
Shares