अब बीमा प्राधिकरणमा पनि अदालतमा जस्तै इजलास

अर्थकागज
प्रकाशित: २८ फागुन २०८१
Image description

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अब अदालतमा जस्तै गरी इजलास सञ्चालन गर्ने भएको छ। प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाको अध्यक्षताको पहिलो प्राधिकरण सञ्चालक समितिको मंगलबार साँझ सम्पन्न बैठकले सामान्य अदालतमा झैं प्राधिकरणमा पनि मुद्दाको सुनुवाई प्रकृया लगायतलाई व्यवस्थित गर्ने निर्णय गरेको हो।

हालसम्म अर्धन्यायीक निकायका रूपमा विवादको सुनुवाई र फैसला गरिरहेको प्राधिकरणले अब अदालतमा जस्तै इजलास सञ्चालन गर्नेछ। यसका लागि प्राधिकरणले नवनिर्मित भवनमा अदालती इजलास जस्तै इजलास कक्षको निर्माण गर्नेछ । प्राधिकरणका अनसार मुद्दाको अवस्थाबारे सम्बद्ध पक्षले अनलाइन पोर्टलमार्फत् नै जानकारी लिन सक्ने गरी व्यवस्था गरिनेछ । प्राधिकरणले विचाराधिन निवेदनहरूको सुनुवाइको मिति, मुद्दाको प्रगती, वादी प्रतिवादी, मुद्दाको फैसला र फैसलाको पूर्णपाठ समेत अनलाइन पोर्टलमार्फत सार्वजनिक गरिने जानकारी दिएको छ।

बीमितले समेत चाहेमा कानूनी सल्लाहकार नियुक्त गरेर आफ्नो पक्षमा बहस पैरवी गर्न पाउनेछन् । मुद्दाका पक्षहरूले निवेदन सम्बन्धमा थप पेश गर्नुपर्ने कागजातको विवरण पनि अनलाइन पोर्टलबाटै लिन सकिनेछ । प्राधिकरणका अनुसार आगामी बैशाख १ गतेदेखि शुरू गर्ने योजना रहेको यो सुविधा कार्यान्वयनमा आएपछि मुद्दाको सामान्य प्रगतिबारे जानकारी लिन कुनै पनि पक्ष प्राधिकरणसम्म धाई रहनुपर्ने छैन। प्राधिकरणको पाँच सदस्यीय सञ्चालक समिति सदस्यमध्ये तीनजना सदस्य सम्मिलित न्यायीक समितिले बीमा दाबी सम्बन्धमा प्राधिकरणमा दर्ता भएका मुद्दाको सुनुवाई र फैसला गर्छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर