मिड सोलु हाइड्रोपावरले १५% बोनस शेयर वितरण गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेड (MSHL) ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित गर्ने उद्देश्यले कम्पनीले पुस २१ गते, सोमबार, काठमाडौँको पुरानो बानेश्वरस्थित मानसरोबल पार्टी प्यालेसमा चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभा दिउँसो १ बजे सुरू हुनेछ।
सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पेस हुँदैछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, संस्थापक शेयरधनी समूहबाट ५ जना सञ्चालकको निर्वाचन, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्ति, तथा संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने जस्ता अन्य महत्वपूर्ण प्रस्तावहरू पनि छलफलका लागि राखिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार, पुस ९ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरू साधारण सभामा सहभागी हुन र कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
Shares