मोदी नेतृत्वको गठबन्धनलाई प्रस्ट बहुमत, भाजपाले एकल बहुमतको सरकार बनाउन नसक्ने
भारतको लोक सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको ‘राष्ट्रिय लोकतान्त्रिक गठबन्धन’ (एनडिए) लाई प्रस्ट बहुमत प्राप्त भएको छ । बुधबार बिहानको मतगणना परिणाम अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई तेस्रो पटक सत्ता सञ्चालनका लागि जनअनुमोदन प्राप्त भएको हो ।
तर २०१४ देखि एकल बहुमतको सरकार चलाएको मोदीले यसपालि गठबन्धनमा रहेका दलहरूलाई लिएर सरकार बनाउनुपर्नेछ।
मत परिणाम अनुसार कुल ५४३ सिटमध्य एनडिए गठबन्धनले २९५ र इन्डिया गठबन्धनले २३१ सिट सिट जितेको छ। १७ सिट अरू दलहरूले जितेका छन्। यो भनेको भाजपा नेतृत्वको एनडिएले जितेको सिट अघिल्लो चुनावमा भन्दा ५७ सिट कम हो। केही प्रदेशमा अपेक्षाभन्दा राम्रो नतिजा प्राप्त नभएकाले भाजपालाई निर्वाचनपूर्व गरिएका ‘एक्जिट पोल’हरूले देखाए झैँ एकल बहुमत भने जुटेन ।
भारतीय जनता पार्टीले प्रस्ट बहुमत ल्याउने अपेक्षाका बिच राजनीतिक विरासत र भारतीय लोकतन्त्रको इतिहास बोकेका नेता राहुल गान्धी नेतृत्वको ‘इन्डिया’ गठबन्धनले निर्वाचन परिणाममा व्यापक सुधार गरेपछि प्रधानमन्त्री मोदीको चाहनामाथि धक्का लागेको छ । इन्डिया गठबन्धनले भने यसपालि १३७ सिट बढाएको छ। अघिल्लो चुनावमा उसले ९४ सिट ल्याएको थियो। यसपालि कंग्रेस एक्लैले ९९ सिट ल्याएको छ। अघिल्लो चुनावमा उसले ५२ सिटमात्रै ल्याएको थियो।
भारतको चुनाव आयोगअनुसार भाजपाले २४०, कंग्रेस आईले ९९, समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डिएमकेले २२, टिडिपीले १६, जेडियुले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सिपिआईएले ४र४ सिट जितेका छन्।
Shares