कर बापतको रकम जम्मा नगरे मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनश नपाइने

अर्थकागज
प्रकाशित: २० जेठ २०८१
Image description

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

साविकको मनकामना लघुवित्त र स्मार्ट लघुवित्त वित्तिय संस्था मर्जरभई एकिकृत कारोबार भएको २०७७ साल साउन ११ पछि सेयर खरिद गरेको वा प्राथमिक सेयर बाँडफाँडमा सेयर परि हालसम्म पनि कायम रहेका सेयरधनीहरुको हकमा सो सेयरमा प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम कर लाग्ने र सो कर वापतको रकम सेयरधनी स्वयंले नै तिर्नुपर्ने भएकाले बोनस सेयर बापतमा लाग्ने कर रकम जम्मा गर्न आग्रह गरेको हो । संस्थाले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट प्रस्ताव गरेको १७ प्रतिशत बोनश सेयरमा लाग्ने कर बुझाउन आग्रह गरेको हो ।

सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा वा ईसेवा मार्फत कर बापतको रकम जम्मा गरी आफ्नो बोनस सेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं. नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न तथा ईसेवामा आवश्यक विवरण टाईप गर्न समेत संस्थाले आग्रह गरेको छ ।

बोनसमा तिर्नुपर्ने करको रकमको जानकारी प्राप्त गर्न आफूले प्राप्त गर्ने बोनस सेयरमा लाग्ने करको विवरण संस्थाको सेयर रजिष्ट्रार एनएमबि क्यापिटलको वेबसाईट मार्फत हेर्न सकिने छ ।

त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा सेयर रोक्का रहेका शेयरधनीहरूको बोनस सेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् ।

संस्थाको २०७९ पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक बर्षकाको मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर