उदयपुरमा छठ पुजाको रौनक हजारौको भिड (फोटोफिचर)
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित त्रियुगा नदीमा छठको ब्रत बस्नेहरुको अत्यधिक घुँइचो लागेको छ ।
गत वर्षको तुलनामा यस वर्ष धेरै ब्रतालुहरु रहेको र पुजा गर्ने स्थल बढी भएकोले त्रियुगा नदीको उतरी किनाराको बगर भरी मानव सागर उर्लिएको थियो ।
त्रियुगा नदीको पुल माथिबाट छठ पुजा र नदीमा ब्रतालुहरु उभिएर पुजा गर्दै गरेको दृश्यहरु पनि सयौँको संख्यामा रहेको थिए ।
त्रियुगा नदीमा छठ पुजा व्यवस्थापन समितिले पाँचसय पुजा गर्ने घाट निर्माण गरेकोमा अपुग भएपछि थप ३० बटा पुजा घाट निर्माण गरिएको छ । शनिबार साँझसम्ममा चारसय ८० पुजा स्थल बुक भएकोमा आइतबार बिहान नपुग भएपछि थप ३० वटा पुजा स्थल घाट निर्माण गरी ब्रतालुहरुलाई उपलब्ध गरायएको व्यवस्थापन समितिले जनाएको छ ।
छठ पुजा व्यवस्थापन समितिका अध्धक्ष चन्दन साहले ब्रतालुहरुको संख्या प्रत्येक वर्ष बढने गरेकोले अनुमान गरेर पुजा स्थल बनाउँदा अपुग हुने गरेको बताए ।
त्रियुगा नदीमा मनाइएको छठ पुजामा मधेसी समुदाय थारु समुदाय र स्थानीय क्षत्री ब्राह्मण तथा राई लिम्बु लगायतका जातीको बाक्लो उपस्थिति रहेको देखिन्छ ।
२०७२ सालदेखि व्यवस्थित रुपले गाईघाटमा समिति गठन गरेर छठ पुजा मनाउन थालिएको जानकारी दिंदै छठ पुजा व्यवस्थापन समितिका संस्गापक अध्यक्ष राहुल यादवले प्रत्येक वर्ष ब्रतालुको संख्या बढ्दै गएकोले केही कुरामा कमी कमजोरी हुने तर ति सबै समस्यालाई समाधान गर्दै गएको बताए ।
त्रियुगाको छठ पुजाकालागि आवश्यकता अनुसारको सबै खाले व्यवस्थापन गरिएको र स्वास्थ्य सेवा एमबुलेन्स, मानवीय उद्धार सेवा तथा आवश्यक सामान खरिदकालागि अस्थायी पसल स्टल समेत व्यवस्था गरिएको छ ।
त्रियुगा बसपार्क सँगैरहेका त्रियुगा नदीको बगरमा रातभरी ब्रतालुहरु आ आफ्नो पुजा स्थलमा नै जागराम बस्ने र नाँचगान सहितको साँस्कृतिक कार्यक्रम गरेर ब्रतालुहरुलाई मनोरञ्जन दिने र त्यसकालागि आवश्यक सम्पूर्ण कुराको व्वस्थापन गरिएको छठ पुजा व्यवसथापन समितिका अर्का सदस्य सुरज साहले बताए ।
प्रतियोगितात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएकोले राती नौ बजेसम्ममा सकिने र त्यसपछि ब्रतालुहरुकालागि नाँच गान सहितको मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको अध्यष चन्दन साहले बताए ।
आफुले चिताएको मनोकामना पुरा हुने र शरीरमा रोग व्याध नलागोस्। सबेमा सुख शान्ति होस् र अन्नपात फलफूल लगायतका कालीनाली राम्रो उब्जाहोस् भन्ने कामना सहित मनाइने छठ पर्व तराईको मात्र नभएर सिंगो देशकै राष्ट्रिय पर्वका रुपमा मनाउन थालिएको छठ पुजा समितिका अर्का सदस्य सुरज साहले बताए ।
प्रत्येक वर्ष व्यवस्थित रुपले त्रियुगा नदीमा छठपुजाको आयोजना गर्दे आएको समितिले टेन्ट त्रिपाल विद्युत, स्वास्थ्य सेवा, एम्बुलेन्स सेवा, औषधी उपचार सहितको चिकित्सक सेवा, खानेपानी, शौचालय, स्टल पसल सेवा लगायतका सेवा सुविधा सहित छठ पुजा आयोजना गर्ने गरेको संस्थापक अध्यक्ष राहुल यादवले बताए ।
Shares