लाभांशको आधारमा कम्पनी विश्लेषण कसरी गर्ने ?

अर्थकागज
प्रकाशित: ०२ असोज २०८०
Image description

आर्थिक बर्ष समाप्त भए सँगै सेयर बजारमा लाभांशको सिजन सुरु हुन्छ । लाभांश नगद होस या वोनस कम्पनीले बाँड्नका लागि छुट्याउने रकम उहि नै हुन्छ । फरक भनेको नगद लाभांशमा पैसा सेयरधनीको बैंक खातामा पुग्छ भने बोनस सेयरमा पैसा कम्पनीकै खातामा रहन्छ तर सेयर भने सेयरधनीको डिम्याट खातामा पुग्छ । दश प्रतिशत नगद लाभांश बाँड्नु र दश प्रतिशत बोनस सेयर बाड्नुमा पैसाका हिसावले कम्पनीलाई कुनै पनि फरक पर्दैन ।

कम्पनीले जति र जुन प्रकारको लाभांश बाँडे पनि लगानीकर्ताले भने दुइ फरक तरिकाले विश्लेषण गर्न सक्छन । यसमा प्राप्त गर्न सक्ने लाभांश बजार मूल्य (दोस्रो बजारको खरिद मूल्य)लाई आधार मानेर विश्लेषण गर्ने कि अंकित मूल्यलाइ आधार मानेर विश्लेषण गर्ने भन्ने हुन्छ । कुनै कम्पनीले १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गर्यो । यो अंकित मूल्यका आधारमा गरिएको घोषणा हो । अंकित मूल्य प्राय कम्पनीको सय रुपैया छ । सयमा १४ प्रतिशत भन्नाले १४ रुपैया हुनजान्छ ।

सय रुपैया लगाएर १४ रुपैया वा १४ प्रतिशत लाभांश प्राप्त गर्नु र अहिलेको बजार मूल्य मानौ ३०० रुपैया लगाएर १४ रुपैया लाभांश प्राप्त गर्नुमा फरक के छ?

सय रुपैया लगाउनेमा सूरुका संस्थापक र प्राथमिक निश्कासनमा सेयर भरेर परेका सेयरधनी हुन्छन । यी दुबै लगानीकर्ताका लागि १४ प्रतिशत लाभांश प्राप्त गर्नु विल्कुलै खराव हैन । यो समुहमा पर्नु हुन्छ र यो दृष्टिकोणबाट हेर्नु भयो भने तपाँइ कम्पनीले दिने लाभांशको यो दरमा खुशिले उफ्रनु हुन्छ ।

तर बजार मूल्य हेरेर लाभांशको दर हेर्नु भयो भने अवश्य केहि नाक खुम्च्याउनु पर्ने हुन्छ । जस्तो बजार मूल्य ३०० छ र यो मूल्यमा सेयर किनेर १४ प्रतिशत लिदा ४.६७ प्रतिशत हुन्छ । यसमा अवश्य पनि चित्त नबुझ्न सक्छ । तर बुक क्लोजको नजिक किनेर एक महिनामा यो लाभांश खातामा पाउनु भयो भने सोचाइ विल्कुलै फरक हुनसक्छ। यदि बुक क्लोज अघि किनेर बुकक्लोज लगत्तै उस्तै मूल्यमा विक्री गर्ने हो भने किन्दा र बेच्दाको कमिशन, र अन्य लागतहरु समायोजन गरेर खुद नाफा निकाल्न पनि सकिन्छ जुन केहि बढ्दो बजारमा निकैनै फाइदा जनक पनि हुनसक्छ ।

यदि यो नगरि एक बर्ष सम्म होल्ड गर्ने र कम्पनीबाट पाउने बार्षिक प्रतिफलको मूल्यांकन गर्ने हो भने बजारको ११ प्रतिशतको मुद्धति निक्षेपमा जानु पर्छ जुन यो भन्दा धेरैनै फाइदा जनक हुन्छ । सेयर बजारमा लाभांश प्रतिफल (आउदो लाभांश÷बजार मूल्य) र ब्याजदरको लडाइ जहिले पनि चलि रहेको हुन्छ जुन बुल र वियरको लडाइ जस्तै हो । लाभांश प्रतिफल र व्याजदरका आधारमा सेयरको विश्लेषण कसरी गर्ने भन्ने बृस्तृत रुपमा #सेयरको_आधारभूत_विश्लेषण कितावमा पढ्न सक्नु हुन्छ । लगानी जहिले पनि आफ्नो जोखिम बहन गर्ने क्षमताको आधारमा गरिन्छ जुन व्यक्ति व्यक्तिमा फरक हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर