सुस्ताउँदो अर्थतन्त्रको असरः बिमा व्यवसायमा सङ्कुचन

पत्रपत्रिका
प्रकाशित: १९ चैत २०८०
Image description

मुलुकको अर्थतन्त्रमा सुस्तता आएसँगै यहाँ सञ्चालित बिमा कम्पनीको व्यवसाय वृद्धिमा सङ्कुचन आइरहेको छ । अर्थतन्त्रको प्रभावले अन्य क्षेत्रजस्तै पछिल्लो समय बिमा कम्पनीको व्यवसायमा पनि बिस्तारै सङ्कुचन आउँदै गएको हो । जीवन बिमा लेख सङ्ख्यामा आएको गिरावट र निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलनमा पछिल्लो समय कमी आइरहेको छ ।

कम्पनीहरूको बिमा शुल्क आर्जनको दर सामान्य वृद्धि देखिए पनि समग्र व्यवसायको वृद्धिमा सङ्कुचन आइरहेको छ ।

मुलुकमा सञ्चालित जीवन र निर्जीवन कम्पनीहरूले चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कुल एक खर्ब २४ अर्ब ८५ करोड ९० लाख ९५ हजार रुपियाँ बिमा शुल्क सङ्कलन गरेका छन् । निर्जीवनतर्फ १४ र जीवन बिमातर्फ १४ वटा गरी कुल २८ वटा बिमा कम्पनीले सङ्कलन गरेको यो बिमा शुल्क अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.४० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले एक खर्ब १९ अर्ब ५९ करोड ८६ लाख १२ हजार रुपियाँ कुल बिमा शुल्क सङ्कलन गरेका थिए । यो अवधिमा जीवन बिमाको तुलनामा निर्जीवन बिमाको व्यवसाय झनै खुम्चिएको छ । चालु आवको फागुन मसान्तसम्म जीवन बिमा शुल्क सङ्कलन ५.१९ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा शुल्क सङ्कलनको वृद्धिदर केबल १.५३ प्रतिशतमा सीमित रहेको छ ।

सुस्ताउँदो अर्थतन्त्रको असर

पछिल्लो समय अर्थतन्त्र चलायमान हुन नसक्दा यसको असरबाट बिमा क्षेत्र पनि अछुतो रहन नसकेको विज्ञहरू बताउँछन् । मुलुकको बाह्य अर्थतन्त्रमा सुधारका केही सङ्केत देखिए पनि आन्तरिक अर्थतन्त्र चलायमान हुन नसक्दा सरकार, निजी क्षेत्रदेखि सर्वसाधारणको दैनिकीसम्ममा गम्भीर असर पर्दै गएको छ ।

अर्थतन्त्रमा देखिएको शिथिलताको अवस्था बिमा क्षेत्रमा पनि देखिएको भन्दै बिमाविज्ञ डा. रविन्द्र घिमिरे भन्नुहुन्छ, “मान्छेको क्रयशक्तिमा सङ्कुचन आइरहेको छ । बिमा क्षेत्रको व्यवसाय पनि क्रमशः खस्कँदै गएको छ ।”

नेपाल बिमा प्राधिकरणका अनुसार चालु आवको फागुन मसान्तसम्म सञ्चालनमा रहेका १४ वटा जीवन बिमा कम्पनीले ९८ अर्ब ५९ करोड छ लाख ६१ हजार रुपियाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा ५.१९ प्रतिशतले बढी हो । अर्थात् जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलन अघिल्लो वर्ष ९३ अर्ब ७२ करोड ५२ लाख ५२ हजार रुपियाँ रहेको थियो ।

यस्तै १४ वटा निर्जीवन बिमा कम्पनीले २६ अर्ब २६ करोड ८४ लाख ३४ हजार रुपियाँ सङ्कलन गरेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.५३ प्रतिशतले बढी हो । अर्थात् निर्जीवन बिमा कम्पनीको बिमा शुल्क सङ्कलन अघिल्लो वर्ष २५ अर्ब ८७ करोड ३३ लाख ६० हजार रुपियाँ रहेको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर