काठमाडौँमा ग्यासको मूल्य बढाइयो, ढुवानी खर्च उपभोक्ताको थाप्लोमा

अर्थकागज
प्रकाशित: १८ भदौ २०८३
Image description

काठमाडौँ । कृष्णभीरमा आएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा बढाइएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघको निर्णयअनुसार अब काठमाडौँ उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसा पुगेको छ । यसअघि नेपाल आयल निगमले तोकेको मूल्य २ हजार ६० रुपैयाँ थियो ।

दौ १४ गते त्रिशूली नदीमा आएको भीषण बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्गको सडक कटान गरेपछि काठमाडौँ उपत्यकामा ग्यास ल्याउन कठिनाइ भएको संघले जनाएको छ । त्यसपछि मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धनुषाका उद्योगमा ग्यासका सिलिन्डर भरेर वैकल्पिक मार्गबाट काठमाडौँ ल्याउनुपर्ने अवस्था आएको हो । वैकल्पिक मार्ग प्रयोग गर्दा ढुवानी दूरी र लागत बढेकाले प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा अतिरिक्त ढुवानी खर्च थपिएको र त्यसमा लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ ।

संघले काठमाडौँ उपत्यकामा ग्यास बिक्री गर्ने उद्योगलाई प्रतिसिलिन्डर २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी मूल्य नलिन आग्रह गरेको छ । 

हाल काठमाडौँ बाहिरका ग्यास उद्योगमा नै ग्यास सिलिन्डर भएर काठमाडौँ ढुवानी गर्दा सो बापतको खर्च भने उपभोक्ताबाट असुल गर्ने निर्णय गरिएको छ भने सरकारले यस विषयमा कुनै प्रतिक्रिया दिइएको छैन । काठमाडौँ उपत्यकामा गत असारदेखि नै ग्यासको अभाव कायमै रहेका बेला फेरी मुल्य बढाएर उपभोक्तालाई दोहोरो मारमा पारेको भन्दै आपत्ति जनाइएको छ ।

राष्ट्रिय उपभोक्ता मन्चले ग्यासमा बढाइएको मुल्य तत्काल खारेज गर्न माग गरेको छ । मन्चले विपदको मौका छोपेर उपभोक्तालाई थप भार पारिएको भन्दै तत्काल मुल्य फिर्ता लिन माग गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर