बेलायती नौसेना र वायुसेनालाई इरानले भन्यो आतंकवादी संगठन

अर्थकागज
प्रकाशित: १६ कात्तिक २०८३
Image description

काठमाडौं । इरानले बेलायतको नौसेना र वायुसेनालाई आतंकवादी संगठन घोषणा गरेको छ । साथै बेलायतको गुप्तचर निकाय एमआई–६ लाई शत्रु समूहको संज्ञा दिएको छ । इरानको विदेश मन्त्रालयले आइतबार यस्तो घोषणा गरेको हो ।

इरानले अमेरिका र इजरायललाई आफूमाथि सैन्य कारबाही गर्न बेलायतले सहयोग गरेको आरोप लगाएको छ । बेलायतले आफ्ना सैन्य अखडा र अन्य सुविधा उपलब्ध गराएर इरानविरुद्धको आक्रमणमा सहयोग गरेको इरानको दाबी छ ।

यसअघि बेलायतले गत जुलाई १३ मा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सलाई आतंकवादी संगठन घोषणा गर्दै प्रतिबन्ध लगाएको थियो । त्यसको जवाफस्वरूप इरानले बेलायती सैन्य निकायमाथि यस्तो कदम चालेको हो । इरानले यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार बेलायत सरकार हुने चेतावनीसमेत दिएको छ ।

यसैबीच, इरानी सेनाले अमेरिकाले पुनः आक्रमण गरे त्यसको पहिलेभन्दा कडा जवाफ दिने चेतावनी दिएको छ । अर्कोतर्फ कतारको मध्यस्थतामा इरान र अमेरिकाबीच तनाव कम गर्ने प्रयास जारी छ । इरानले प्रतिबन्ध हटाउने, तेल बिक्रीमा सहजता दिने र कतारमा रोकिएको करिब ६ अर्ब अमेरिकी डलर फिर्ता गर्नेलगायतका माग अघि सारेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर