केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अर्थकागज
प्रकाशित: ११ साउन २०८२
Image description

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको छ, यद्यपि केही प्रदेशहरूमा भारी वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा आफ्नो सामान्य स्थानको वरिपरि अवस्थित रहेकाले देशका अधिकांश भूभागमा मौसम बदली भएको छ । महाशाखाका अनुसार, आज दिउँसो देशभरको मौसम सामान्यतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । यसैगरी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ ।

आज राति पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना औंल्याउँदै आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ । भारी वर्षाका कारण ती क्षेत्रहरूमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा कमजोर भूबनोट भएका क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर