२२.५ मेगावाट क्षमताका माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न, राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जडान

अर्थकागज
प्रकाशित: २९ फागुन २०८२
Image description

काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जडान गरिएको छ ।

ठूलोखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाको भौतिक संरचना, विद्युतगृहमा उपकरण जडान र प्रसारणलाइन निर्माण सम्पन्न गरी आजदेखि राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जडान गरिएको हो ।

“आयोजनाको बाँध, विद्युतगृह, पाइपलाइन, प्रसारणलाइन र विद्युतगृह उपकरण जडानका साथै आन्तरिक परीक्षण सकिएको छ,” ठुला खोला अयाोजनाको कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्तले भने , “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा परीक्षण उत्पादनमा सफल भएसँगै राष्ट्रिय प्रसारण प्रणाली (ग्रिड) मा जोड्न सफल भएका छौं ।”

विसं २०७८ मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ । सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइपलाइन र ३०० मिटर सर्च साफ्ट पाइपलाइन जडान, फेदीमा विद्युतगृह निर्माण गरिएको छ । विद्युतगृह परिसरमा ‘स्वीचयार्ड’ निर्माण गरिएको छ ।

यो आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर पाँच किलोमिटर लामो १३२ केभी क्षमताको प्रशारणलाइन निर्माण गरिएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मंगले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हुँदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारणलाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आवद्ध गराइएको छ ।

यस आयोजनाका ठेकेदार देव ऊर्जा कन्ट्रक्सन सिभिल र हाइड्रोमेकानिकल हुन् ।

तीन अर्ब लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स र माछापुच्छ्रे बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवद्र्धकको ३० प्रतिशत लगानी रहने छ । कम्पनीले सर्वसाधारणको लागि आईपीओ निष्काशनको लागि आवश्यक प्रकृया समेत अगाडि बढाईसकेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर