महिला लघुवित्त : सुनको अण्डा दिनसक्ने क्षमता, लगानी सुरक्षित


काठमाडौँ । कुनैबेला दोश्रो बजारमा कारोबार गर्ने लगानीकर्ताहरुको मुखमा झुन्डिएको र आईपीओ भर्ने लगानीकर्ताहरुको सपना बनेको एकमात्रै लघुवित्त हो महिला लघुवित्त वित्तीय संस्था लिमिटेड । धेरै समय भएको छैन केही समय मात्रै भयो महिला लघुवित्तले सर्वत्र चर्चा कमाएको । यसको कारण थियो संस्थाको आईपीओ । संस्थाले खुलाएको आईपीओ पर्ने लगानीकर्ताले एक हजारको लगानीबाट केही महिनामै ५० हजार कमाएपछि यो लघुवित्त चर्चामा आएको थियो । आज हामी यही आधारभूत पक्षहरुलाई गहिराईसम्म केलाउने प्रयास गर्नेछौँ । सुरु गरौँ संस्थाको परिचयबाट ।
महिला लघुवित्तको परिचय
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पब्लिक कम्पनीको रूपमा नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था ऐन, २०७३ अन्तर्गत सञ्चालन गर्न २०७५ साल असोज महिनाको २२ गते घ वर्गको वित्तीय संस्थाको रूपमा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको थियो । जस अनुरुप संस्थाले २०७५ साल कार्तिक १ गतेबाट औपचारिक रुपमा कारोबार सञ्चालन गरेको थियो । यसको केन्द्रीय कार्यालय काभ्रे जिल्ला, साँगामा अवस्थित छ । संस्थाले विपन्न वर्गका व्यक्तिहरुलाई सरल, सहज, प्रभावकारी, दीगो र भरपर्दो लघुवित्तीय कारोबार सञ्चालन गरिरहेको छ । हाल देशका सात वटै प्रदेश गरी ३४ जिल्लाहरुमा शाखा कार्यालयहरु खोली कार्यक्रम सञ्चालन गरी रहेको छ ।
सेयर संरचना
संस्थाको सेयर स्वामित्वको कुरा गर्नुपर्दा संस्थाको सेयर संरचना ६०ः४० को अनुपातमा रहेको छ । जसमध्ये, ६० प्रतिशत संस्थापक समूहको लगानी रहेको छ भने बाँकी ४० प्रतिशतमा सर्वसाधारणले लगानी गरेका छन् ।
सेयर संरचनाको विस्तृत विवरण तलको तस्विरमा हेर्न सकिन्छ :
संस्थाको वित्तीय अवस्था नियालौँ
संस्थाको वित्तीय अवस्थाको बारेमा कुरा गर्नुपर्दा संस्थाले अपडेटेड वित्तीय अवस्था गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणबाट हेर्न सकिन्छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाको खुद नाफा ७ करोड ५५ लाख १८ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ दशमलव १२ प्रतिशतले थोरै हो । समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि ५ दशमलव ७५ प्रतिशतले घटेर २९ करोड ९५ लाख ३८ हजार रूपैयाँमा झरेको छ । चौथो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा १८ दशमलव ९३ प्रतिशतले घटेर १० करोड ७८ लाख ३० हजार रुपैयाँमा सिमित छ । संस्थाको वितरणयोग्य नाफा १६ हजार ४ सय ६७ रुपैयाँ पुगेको छ । संस्थाको चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार रुपैयाँ रहेको छ । संस्थाको जगेडा कोषमा २० करोड ६५ लाख ८ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) २८ रुपैयाँ ५९ पैसाले घटेर ३४ रुपैयाँ ७१ पैसामा सिमित भएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ६३ पैसा रहेको छ ।
सेयर बजारमा महिला लघुवित्त
सेयर बजारमा महिला लघुवित्तको स्थानको चर्चा गर्नुपर्दा नेपाल स्टक एक्सचेञ्जमा संस्थाको २१ लाख ७५ हजार ६ सय २५ कित्ता सेयर सूचिकृत छ । आज असोज २३ गते, मंगलबारको कारोबार अनुसार नेप्सेमा यस लघुवित्तको सेयरमूल्य एक हजार ७ सय २७ रूपैयाँ रहेको छ । लघुवित्तको सेयर एक वर्षयता अधिकतम ४ हजार ३ सय २९ रूपैयाँ ६० पैसा र न्युनतम एक हजार ७ सय रूपैयाँमा कारोबार भएको छ ।
लघुवित्तको पछिल्लो १८० दिनको औषत मूल्य २२ सय ५० रूपैयाँ ९६ पैसा रहेको छ । यस्तै, लघुवित्तको पछिल्लो १२० दिनको औषत मूल्य १८ सय ९० रूपैयाँ ६२ पैसा रहेको छ । लघुवित्तको औषत मूल्यलाई आधार मानेर हेर्दा कम्पनीको सेयरमूल्य हाल घटेको छ ।
लघुवित्तको लाभांश इतिहास
दोश्रो बजारमा लघुवित्तको कारोबार सुरु भएको २ वर्ष मात्रै भयो । तर छोटो समयमै यस लघुवित्तले लगानीकर्ताहरुबाट वाहवाही पाइसकेको छ । यसको एउटा कारण लघुवित्तले लगानीकर्ताहरुलाई दिएको प्रतिफल पनि हो । दुवै आर्थिक वर्षमा यस लघुवित्तले लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरण गर्याे ।
१. आर्थिक वर्ष २०७७/७८
आर्थिक वर्ष २०७७/७८ मा संस्थाले आफ्ना लगानीकर्ताहरुलाई ४७ दशमलव ५० प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।
२. आर्थिक वर्ष २०७८/७९
आर्थिक वर्ष २०७८/७९ मा पनि संस्थाले आफ्ना लगानीकर्ताहरुलाई ४७ दशमलव ५० प्रतिशत बोनस सेयर र २ दशमलव ५० प्रतिशत नगद गरी कुल ५० प्रतिशत नै लाभांश वितरण गरेको थियो ।
व्यवस्थापकीय पक्ष
कुनै पनि कम्पनी कस्तो हो, कस्तो छ र कस्तो थियो भन्ने कुराको गहिरा पन । कम्पनीको हरेक राम्रा तथा नराम्रा अवस्थाहरूमा व्यवस्थापकीय पक्षको ठूलो भुमिका हुने गर्दछ ।
महिला लघुवित्तको व्यवस्थापनको कुरा गर्नुपर्दा संस्थाको नेतृत्व तारा कुँवरले गरिरहेकी छिन् । यस लघुवित्तको अध्यक्षमा रहेकी उनी महिला अधिकार तथा विकास केन्द्रकी प्रतिनिधी हुन् । संस्थाको सञ्चालकमा डा. इमान सिंह गुरुङ, सुभाष जमरकटेल र माया भण्डारी रहेका छन् । यस्तै, संस्थाको स्वतन्त्र सञ्चालकमाकोपिला पोखरेल रहेकी छिन् । यता संस्थामा सर्वसाधारण समूहको प्रतिनिधित्व गर्ने गरी सर्वसाधारण सञ्चालकमा कमल कुमार भारती र रोजी सिग्देल रहेका छन् ।
यता संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण प्रसाद न्यौपाने रहेका छन् । संस्थाले गत वर्ष असार १ गतेबाट लागू हुने गरी ४ वर्षका लागि उनलाई पुनः करारमा नियुक्त गरेको हो । महिला लघुवित्तमा यो उनको दोश्रो कार्यकाल हो । महिला लघुवित्तलाई यो स्थानसम्म ल्याईपुर्याउन उनको पनि ठूलो योगदान रहेको छ ।
समग्रमा : महिला लघुवित्तमा लगानी कति सुरक्षित ?
समग्रमा महिला लघुवित्तलाई हेर्दा महिला लघुवित्त लगानीकर्ताहरुको आकर्षणमा परेको लघुवित्त हो । दोश्रो बजारमा धमाकेदार इन्ट्री गरेको यस लघुुवित्तको व्यवस्थापन र वित्तीय पक्ष पनि एकदमै राम्रो छ ।
हाल लघुवित्तको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४९.७६ गुणा रहेको छ । सामान्यतय १५ भन्दा कम पीई भएका कम्पनीहरू लगानीका लागि सुरक्षित मानिन्छ ।
हामीले लगानी गर्दा एउटा पक्षको आधारमा मात्र गर्नु हुँदैन । लगानी गर्दा कम्पनीका विभिन्न पक्षहरूलाई राम्ररी केलाएर मात्र लगानी गर्नुपर्दछ । महिला लघुवित्तको विभिन्न पक्ष केलाउँदा कम्पनीमा गरिने लगानी दीर्घकालिन रूपमा सुरक्षित देखिन्छ । महिला लघुवित्तको सेयरमूल्य पनि अहिले सस्तो भएको छ । लङ टर्मका लागि लगानी गर्न यो लघुवित्त उत्कृष्ट देखिन्छ । यस लघुवित्तले लगानीकर्ताहरुलाई आकर्षक रिटर्न (प्रतिफल) दिन सक्ने क्षमता राख्दछ ।
यद्यपी हामीले कम्पनीको समग्र अवस्था हेरेर विश्लेषण गर्ने हो यो कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने विषयमा नितान्त रुपमा लगानीकर्ताहरुको स्वविवेकमा निर्भर रहन्छ ।
Shares