प्याब्सनको चन्द्रागिरि नगर कमिटि अध्यक्षमा सरोज महर्जन निर्वाचित


निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनको चन्द्रागिरि नगर कमिटि अध्यक्षमा सरोज महर्जन निर्वाचित भएका छन् । आइतबार सम्पन्न प्याब्सन चन्द्रागिरि नगरको तेस्रो नगर अधिवेशनले महर्जनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो । काठमाडौं जिल्ला प्याब्सन उपाध्यक्ष एवं प्रमुख निर्वाचन आयुक्त रिता राई दाहालका अनुसार ३ वर्षे कार्यकालका लागि प्याब्सन चन्द्रागिरिको अध्यक्षमा सरोज महर्जन, उपाध्यक्षमा बालकृष्ण भेटवाल, सचिवमा प्रमोद जिसी, कोषाध्यक्षमा कृष्णहरि बस्नेत निर्वाचन भएका छन् । सदस्यमा मिलन गुरुङ, पूर्णकुमार महर्जन, रामजी प्रसाद पोखरेल चयन भएका छ्न् । यशोधा श्रेष्ठ सदस्य मनोनित भएकी छन् ।
प्याब्सन काठमाडौं अध्यक्ष प्रेमकुमार राईको उपस्थितिमा प्याब्सन चन्द्रागिरि नगरका नवनिर्वाचित पदाधिकारीहरुलाई आइतबार नै जिम्मेवारी हस्तान्तरण गरिएको छ । अधिवेशनका क्रममा रिब्स माविका संस्थापक प्रधानाध्यापक डीबी गुरुङलाई कुशल नेतृत्व सम्मान र ब्राइट फ्यूचर माविका अध्यक्ष मोहनकुमार कार्कीलाई विशेष सम्मान गरिएको थियो । चन्द्रागिरि नगरमा हाल ५२ वटा (माध्यमिक तह) निजी तथा आवासीय विद्यालयहरु सञ्चालनमा रहेपनि प्याब्सन नगर समितिमा ३२ विद्यालयले मात्रै ऐक्यबद्धता जनाएका छन् । सांगठनिक ऐक्यबद्धताको लागि २०७५ मा चन्द्रागिरि नगरमा निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सनको गठन गरिएको थियो । यसअघि दीपक महर्जन प्याब्सन चन्द्रागिरि नगर अध्यक्षका रुपमा लगातार २ कार्यकाल बिताएका थिए ।
Shares