धितोपत्र बजारमा सुधारका लागि नीति खुकुलो बनाउने अर्थमन्त्रीको घोषणा


अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र धराशायी भएको भनेर नकारात्मक प्रचार बढी हुँदा बजारमा त्यसको असर देखिएको बताएका छन् । नागरिक लगानी कोषको आइतबार राजधानीमा आयोजित ३४ औँ वार्षिकोत्सवका अवसरमा उनले अर्थतन्त्र सङ्कटमा नरहेको स्पष्ट पारे ।
एक वर्षभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति, विप्रेषण आप्रवाह राम्रो रहेको उनले बताए ।अर्थमन्त्री पुनले भने, “बैङ्क तथा वित्तीय संस्थामा पर्याप्त तरलता छ । अब बिस्तारै लगानी पनि बढ्छ ।” अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र सङ्कट बाहिर रहेको उनको भनाइ थियो ।
बैङ्किङ तरलता बढेर बैङ्कहरू लगानीको क्षेत्र खोजिरहेकोप्रति ध्यानाकर्षण गर्दै उहाँले पछिल्लो समय धितोपत्र बजारमा सकारात्मक सङ्केत देखिएको दाबीसमेत गरे । अर्थतन्त्रमा केही शिथिलता भने रहेको उनको भनाइ थियो ।
अर्थमन्त्री पुनले ६० लाख जनसङ्ख्या संलग्न धितोपत्र बजारमा सुधारका लागि आफूले सरोकारवालासँग सुझाव मागेको र सुझावहरू प्राप्त भइरहेको जानकारी दिए । विगतमा अर्थतन्त्र सङ्कटमा रहेका बेला लिइएका कतिपय नीतिमा खुकुलो बनाउने गरी मन्त्रालय र नियामक निकायबिच छलफल चलिरहेको अर्थमन्त्री पुनले जानकारी दिए ।
Shares