यस्तो छ आजको मौसम

अर्थकागज
प्रकाशित: ०९ साउन २०८२
Image description

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले मनसुनी गतिविधि कम सक्रिय भएको हो ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । महाशाखाका अनुसार बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै, कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना समेत रहेको छ ।बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । भारी वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने तथा नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रा गर्नेहरूलाई विशेष सावधानी अपनाउन सुझाइएको छ ।

महाशाखाका अनुसार आगामी केही दिन मनसुनी गतिविधिमा उतारचढाव आउने देखिएको छ । सर्वसाधारण तथा सम्बन्धित निकायहरूलाई मौसम पूर्वानुमानबारे नियमित जानकारी लिई आवश्यक पूर्वतयारी गर्न महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर