एक वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था सच्याउन माग
काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले सञ्चालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाको विरोध गरेका छन् । संघले यस सम्बन्धमा नेपाल धितोपत्र बोर्डको ध्यानाकर्षणसमेत गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (क) अनुसार संगठित सञ्चालकले पदमा बहाल रहँदाका बखत वा पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक रहेको संघको ठहर रहेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सेयर बिक्री सम्बन्धी व्यवस्था अत्यन्तै अव्यवहारिक रहेको छ । कम्पनीमा कायम रहेका सबै सेयरधनी जस्तै सञ्चालकहरु पनि लगानीकर्ता नै रहेको र सेयरधनीहरुको साधारणसभाबाट निर्वाचित भई उनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेकै आधारमा सेयर बिक्री गर्न नपाउने व्यवस्था न्यायोचित छैन ।’ नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका संघका अध्यक्ष राजेन्द्र मल्लसहितको पदाधिकारीले बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई सो प्रावधान सच्याउनका लागि आग्रह गरे । लगानीको दृष्टिकोणबाट कम्पनीका अन्य सेयरधनीको वित्तीय स्वार्थ र सञ्चालकहरुको वित्तीय स्वार्थमा कुनै फरक नरहेको संघका अध्यक्ष मल्लले बताए । सञ्चालकहरुले अन्य सेयरधनी सरह नै कम्पनीमा लगानी गरेपछि त्यसको उपयोग गर्नबाट सञ्चालकहरुलाई वञ्चित गर्ने
कार्य न्यायोचित नभएको संघले ठहर गरेको छ ।
Shares