अर्थ कागजको समाचारप्रति मनमोहन सेन्टरकी कर्मचारी मोनिका कोइरालाको असहमति

अर्थकागज
प्रकाशित: ०५ कात्तिक २०८१
Image description

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार अरुलाई सास्ती शिर्षकको समाचार प्रति असहमति जनाउँदै त्यहाँ कार्यरत कर्मचारी मोनिका कोइरालाले खण्डन पठाउनु भएको छ । उहाँको भनाइ हामीले जस्ताको तस्तै प्रकाशित गरेका छौं ।

श्रीमान् सम्पादकज्यू,

अर्थ कागज डट कम

बिषयः खण्डन सम्बन्धमा

महोदय,

उपरोक्त सम्बन्धमा तपाई सम्पादक रहेको अर्थकागज डट कम अनलाइन सञ्चार माध्यमबाट मिति २०८१—०४—२९ मा ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उदण्ड कर्मचारीलाई पुरस्कार अरुलाई सास्ती’ शीर्षक प्रकाशित सामाग्री उपर मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचार सामाग्रीका सम्बन्धमा मेरो देहायअनुसार बुँदागत प्रतिक्रिया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनुहुन अनुरोध गर्दछु ।

देहायः.

१) विश्वविद्यालय मातहतको मनमोहन सेन्टरमा नियमअनुसार कुनै व्यक्ति विशेषलाई कुनै विशेष प्रकारको वा छुट्टै सुविधा दिने प्रावधान छैन । त्यसैले मैले र मेरो पीडित दूधे बालकले कुनै सुबिधा नपाएको खण्डमा ‘उदण्ड कर्मचारीलाई पुरस्कार’ भन्ने शीर्षक नै झूठो हो ।

२) प्रकाशित सामाग्रीमा ‘कार्यालयमा हाजिर गर्न मात्र उपस्थित हुने, काम अरायो भने उग्र व्यवहार प्रदर्शन गर्दै कार्यालयको तोडफोडमै उत्रिने स्वभावले सहकर्मी आजित भएका छन् ।’

यथार्थः हाजिर मात्र गरी काम नगरेको भए मलाई जिम्मामा लगाएको काम पूर्ण गरेको छु । जुन कुराको प्रमाण कार्यकारी निर्देशक, प्रशासन प्रमुख तथा नर्सिङ निर्देशक सबैको सहमतिमा मैले काम गर्ने कक्षमा रहेको सिसिटिभी फुटेज तथा नाम दर्ता गर्ने रजिष्ट्रारको हस्ताक्षर विधि विज्ञान प्रयोगशालामार्फत मेरो अक्षरसँग परीक्षण गराउँदा पनि प्रष्ट हुने छ ।

३) प्रकाशित सामाग्रीमा ‘उनका पति अमृत पोख्रेलले मनमोहन सेन्टरको फार्मेसीमा गरेको अनियमिताको भेद खुलेपछि सेन्टरभित्रै आत्महत्या गरेका थिए’ ।

यथार्थः २०८०—०३–२९ मा मेरो श्रीमान् स्वर्गीय अमृत पोख्रेल सोही सेन्टरको फार्मेसी अधिकृतका रुपमा विगत १३ वर्षदेखि कार्यरत तथा त्रिबिको स्वर्णपदक बिजेता पनि हुन् । उहाँले सुसाइड नोटमा लेखेअनुसार ‘आफूले गरेको गल्ती पनि मैले गरेको भनी देखाई ब्ल्याक मेल र टर्चर गर्ने सबै साथीहरुको जय होस् ’ भनी लेखिएको विधि विज्ञान प्रयोगशालाबाट श्रीमान् अमृत पोख्रेलको नै अक्षर रहेको पुष्टी भएको छ र सामाग्रीमा भएअनुरुप अमृतको विरुद्ध कुनै प्रमाण नभएको र उहाँका सहकर्मीको बिरुद्ध सम्पूर्ण प्रमाण म लगायत त्रि.बि. कार्यालय तथा अदालतमा रहेको छ । तर अमृतले गरेको अनियमितताको भेद खुलेपछि आत्महत्या गरेको भन्ने समाचार सत्य नभएको जानकारी गराउँदछु ।

४) ‘पतिको आत्महत्या प्रकरणलाई हतियार बनाउँदै उनले मनमोहन सेन्टरमा बबण्डर मच्चाउँदै आएकी हुन् ।’

यथार्थः श्रीमानको आत्महत्या पश्चात् प्रमाण हातमा प्राप्त भएपछि पनि आर्थिक अनियमितताको विषयमा संलग्न व्यक्तिलाई कारबाही नगरी अन्यत्र स्थानान्तरण गरिएको । तर त्रिबि ऐन अनुरुप प्रमाण हुँदाहुँदै पनि किन कारबाही गरिएन ? कृपया न्याय दिलाई पाउँ भनी निवेदन गर्दा प्रक्रिया अघि बढेको छ, कारबाही हुन्छ भन्ने मौखिक आश्वासन मात्रै पाएको डेढ वर्ष भइसक्यो जुन प्रमाण सम्बन्धित ठाउँमा पेश गरेकै छ ।

५) ‘मोनिका कोइरालाले केही अदृश्य शक्तिको आडमा आफ्नो हाकिम लगायत सहकर्मीलाई थर्काउने, धम्क्याउने गरेकी छिन्’

यथार्थः जो कपोकल्पित र झूठो आरोप हो । श्रीमानको दुरुत्साहनको विषयमा एक्लै टुहुरो दुधे बालक काखमा लिएर न्यायको पर्खाइमा लडिरहेको छु । जुन समयमा उल्टै मलाई एक्लै बोलाई मानसिक टर्चर र ब्ल्याकमेल भएको थियो जसको प्रमाण म सँग सुरक्षित नै छ ।

६) हातमा कालो पट्टी बाँधे पनि आफ्नो जिम्माको काम पूर्ण गरेको छु ।

७. पति वियोगको विषम परिस्थितिमा संयमित हुनुपर्छ भनेर सक्दो सहयोग गर्नुपर्छ भनी प्रशासन प्रमुखबाट पाएको वचन उहाँहरुको अगाडि हुन्छ भन्ने तर म करारमा कार्यरत नर्स भएका कारण नर्सिङ अधिकृत र निर्देशकले एक्लै बोलाई अपशव्द प्रयोग गरेको, कामको जिम्मेवारी नदिने र कामबाट निकाल्नेसम्मको पनि धम्की दिएको कारण मैले मेरो दुधे बच्चा छ, बारम्बार टर्चर नदिनु, मलाई मर्न बाध्य नपार्नु, मलाई केही भयो भने बच्चाको बेहाल हुन्छ भनी बिन्ति बिसाएको थिएँ । यति भन्दा पनि नर्सिङ निर्देशकले कुनै प्रकारको सहयोग नगरको जानकारी गराउँछु । यो विषयसँग सम्बन्धित केही प्रमाणहरु पेश गर्न पनि सक्छु ।

८) ‘उनी विभिन्न मिडियामा गई कार्यालय समयमै अन्तर्वार्ता दिँदै मनमोहन सेन्टरबारे अनर्गल प्रचार गर्दै हिँडेकी छिन्’ भन्ने समाचारमा आरोप पनि छ ।

यथार्थः वास्तवमा अन्तर्वार्तामा कुनै झूठो कुरा गरेको छैन । सत्यताको कुरा र अस्पतालको गोपनियताको ख्याल राखेर बिदाको दिन पारी सँधै शनिबार मात्र अन्तर्वार्ता दिएको कारण यो झूठो वाक्यको खण्डन गर्न चाहन्छु ।

९) ‘उदण्ड मोनिकालाई भारतमा हुने लिडरसिप तालिममा सहभागी हुन व्यवस्थापनले सिफारिस गरेको छ ।’

यथार्थः भारत सरकारको मातहतमा PGIMER को नर्सिङ लिडरसिप तथा म्यानेजमेन्टको तालिमको बारे वेबसाइटमार्फत थाहा पाई पहिलो चरण आफ्नो कागजपत्र पेश गरेकी थिएँ । जसमा मेरो छनौट भई दोस्रो चरण भारतीय दूतावासमा अन्तर्वार्ता दिने थियो । त्यस समयमा मैले निमित्त कार्यकारी निर्देशक डा. रञ्जन सापकोटा, प्रशासन प्रमुख तथा नर्सिङ निर्देशकलाई जानकारी गराई उहाँहरुको स्वीकृति कार्यानुभव पत्र लिई भारतीय दूतावासमा अन्तर्वार्ता दिएपश्चात् १५ दिनमा मेरो छनौट भएको जानकारी पाएँ जो प्रशासन प्रमुख तथा कार्यकारी निर्देशकलाई जानकारी गरेकी थिएँ । बधाई पनि पाएको थिएँ । तर प्रस्थान गर्नु २ दिनअघि पूर्व नर्सिङ निर्देशकले जान दिन्न भन्ने कुरा गर्नुभयो । जसले गर्दा ममाथि ठूलो विश्वासघात भएको महसुस भयो । नेपालबाट ६ जना नर्स मात्र उक्त तालिममा छनौट भएकोमा म पनि पर्नु सायद त्रिबिको लागि गौरवको कुरा हुनुपर्नेमा उल्टै जान दिन्न भन्ने खालको कुरा गर्नुभयो । त्यस विषयमा बहस भएको थियो । यदि नदिनुनै थियो भने अन्तर्वार्तामा जानु अगावै दिन्न भन्नुपथ्र्यो । प्रशासन प्रमुख, कार्यकारी निर्देशक र नर्सिङ निर्देशकलाई खबर गरी अन्तर्वार्तामा गएको र छनौट भएपछि नजाने खण्डमा ठूलो फाइन लाग्छ रे त्यो मैले दिन सक्दिन के गरौं भन्दा जे गर्ने गर भनी नर्सिङ निर्देशकको जवाफले म निरास भएँ । त्यो समयमा मलाई धोका भएको महसुस भयो । आफ्नो कुर्सीको बलमा मलाई भन्नुसम्म भन्नुभयो । मैले सहेँ । तर एक पीडित महिलालाई के गरेको ?

मोनिका कोइराला

कामनपा महाराजगञ्ज—३ काठमाडौं

हाम्रो भनाइ

कर्मचारी मोनिका कोइरालाले स्वास्थ्य संस्थाको जिम्मेवार कर्मचारी भएर आफूले काम गरिरहेको दावी गरिरहँदा उहाँले रिसको आवेगमा कार्यकारी निर्देशकको कार्यकक्षकै टेबुल फुटाउनु भएको हुँदा हामीले उहाँको ब्यवहारलाई उदण्ड भनेका थियौं । उहाँले खण्डका त्यतिधेरै बुँदामध्ये कुनैमा पनि आफूले कार्यकारी निर्देशकको टेबुल नफुटाएको दावी गर्न सक्नु भएको छैन । रिसको आवेगमा सरकारी कार्यालय तोडफोडमा उत्रिने कर्मचारीले कार्यालयमा कस्तो ब्यवहार गर्ला भनेर सहजै अनुमान लगाउन सकिन्छ । त्यस दिन उहाँले आक्रोशमा आई कार्यकारी निर्देशकको कक्षाकै सिशाका टेबुल फुटाएर त्यसको एक टुक्रा सिसा आफ्नो घाटीमा समेत तेर्स्याएको मनमोहन सेन्टरको सिसिटिभी फुटेजमा सुरक्षित छ । त्यसपछि उहाँले आफन्तहरु बोलाएर मनमोहन सेन्टरमा हुलहुज्जत गर्नु भएको थियो ।

हामीले मनमोहन सेन्टरको समाचार त्यहाँको नसिंंग निर्देशक र अरु कर्मचारीसँग कुराकानी गरेर तयार पारेका हौं । त्यहाँ कोइरालाले देखाउँदै आएको ब्यवहार बारे प्रकाशित समाचार सत्य रहको कुरामा हामी विश्वस्त छौं ।

उहाँले अहिले पनि पूरा समय काम गर्नु भएको छैन । खाजासमय पछि उहाँ कार्यालयबाट निस्केपछि हाजिर गर्न मात्रै आउने गर्नु भएको छ ।

उहाँले कार्यालय प्रमुख तथा उहाँभन्दा माथिल्लो तहका कर्मचारीले भनेको नमान्ने, काम लगाउँदा उग्र भएर तोडफोड गर्ने, मिडिया बोलाउने धम्की दिने, आत्महत्या गर्ने धम्की दिने, परिवारको मान्छेको हुल बोलाउने लगायतका काम गर्दै आउनु भएको छ ।

उहाँले विभिन्न मिडियामा विगत सात आठ महिना अगाडि दिएको अन्तर्वार्तामा आफूले न्याय नपाउन्जेल फ्रिली लड्न पाउनु पर्ने बताउनु भएको थियो । उहाँले करारमा भएको कर्मचारीले स्थायी क्षतिपूर्तिको व्यवस्था गर्नुपर्योभनेर भन्नु भएको भिडियो अहिले पनि युट्युवमा छ। त्यस्तै नारी टिभीमा हाकिमले तिमीले काम गर्नुपर्छ भनेर भन्दा महिलाबाटै टर्चर फिल भएको कुरा व्यक्त गर्नु भएको थियो । “मलाई नियममा नराखियोस्, बण्डमा नराखियोस्”, “मैले केही पनि पाएको छैन”, “ जम्मा साइकोलोजिकल काउन्सलिङका लागि अनुमति पाएको “ , “राहत क्षतिपूर्ति भनेको अधिकार हो“ जस्ता कुरा व्यक्त गर्नु भएको थियो ।

उहाँका पतिले भ्रष्टाचारको आरोप लागेपछि आत्महत्या गरेको कुरा हामीले काठमाडौं जिल्ला अदालतमा चलेको आत्महत्या दुरुत्साहन मुद्दामा अदालतले गरेको फैसलाको पूर्णपाठबाट लिएका हौं । मुद्दा नम्बर ०८०–c1–२८३२ मा भएको फैसलाको पूर्णपाठ अदालतको वेवसाइटमा जोसुकैले हेर्न सक्छ । यहाँ हामीले अदालतले फैसलामा उल्लेख गरेको कुरालाई स्क्रिन सटमा राखेका छौं ।

सत्य के हो छुट्याउने जिम्मा पाठकलाई नै सुम्पेका छौं ।

सम्पादक


प्रतिक्रियाहरू

सम्बन्धित खबर