प्रिमियम मूल्यमा हिमालयन रिइन्सुरेन्सको आईपीओ बिक्री खुला
काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले प्रिमियम मूल्यमा आजदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा आईपीओ खुला गरेको हो । हिमालयनको जारी पुँजी १० अर्ब रुपैयाँ रहेको छ । जसको ३० प्रतिशतले हुन आउने ३ करोड कित्ता आईपीओ सर्वसाधारणलाई जारी गर्न यसले धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी गर्न लागिएको हो ।
कहाँबाट आवेदन दिने ?
लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देखिदैन ।
Shares