विद्यालयमा संगित शिक्षा दिंदै शैलेन्द्र !

माधव पोखरेल गोज्याङ्ग्रे
प्रकाशित: ३१ भदौ २०८०
Image description

उदयपुर । उदयपुरका संगीत गुरु शैलेन्द खतिवडा यतिबेला विभिन्न विद्यालयमा संगीतको पुस्ता हस्तान्तरण कार्यक्रमको सांस्कृतिक जागरण अभियानमा उदयपुर जिल्लाका विभिन्न विद्यालयमा दुई दिने कार्यक्रममा विद्यार्थी र शिक्षकसमेतलाई संगीत सिकाउने धुनमा लागेका छन् ।
१ हजार दुईसयभन्दा बढी गीत लेखेर आफैले संगीत भरेका शैलेन्द्र खतिवडाले ५७ वटा गीत रेकर्ड गराएका छन भने दुईवटा एल्बम सीमापारी र मुक्तियात्रा समेत निकाले छन् । अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगेर आउँदो पुस्तालाई गीत संगीतको माध्यमबाट सांस्कृतिक जागरणमा अघि बढाउन संगीतको सीप सिकाउँदै हिडेकाछन् ।
शैलेन्द्रले भने –उदयपुर जिल्लाका सबै विद्यालयमा गएर नयाँ पुस्तालाई संगीत सिकाउने दुई दिने अभियानमा लागेको छु । साथी शिव नारायण चौधरीसँगै मैले पनि आगामी पुस्तालाई दक्ष बनाएर साँस्कृतिक जागरण ल्याउन र सामाजिक रुपान्तरणकालागि केही गरौ भन्ने भावनाका साथ यो अभियान संचालन गरेको हुँ ।
क्ेही दिन अघिमात्र प्रारम्भ भएको यो अभियान हालसम्म त्रियुगा नगरपालिकाको १ नं वडाको जोगीदहको संस्थागत र सामुदायिक विद्यालय, ३ नं वडाको मोतिगडा स्थित संस्थागत विद्यालय, उदयपुरगढी गाउँपालिकाको माध्यमिक विद्यालय जगरेटारमा सम्बन्धित गाउँपालिकाको वडा कार्यालयसँग समन्वय र सहयोग लिएर संगीत शिक्षा दिने काम सम्पन्न भएको छ भने अब विद्यालयको माग अनुसार सम्बन्धित पालिकाको वडा कार्यालयको समन्वय र सहयोगमा कार्यक्रम गर्दै जाने योजना रहेको बताए ।
उदयपुरको गीत संगीतका क्षेत्रमा मात्र होइन नेपालको सांस्कृतिक आन्दोलनमा आफ्रनो छुट्टै पहिचान बनाउन सफल खतिवडाका आधारभूत संगीत शिक्षक तालिम र मेरो संगीत गुरु पुस्तक प्रकाशित भएकाछन् ।
उदयपुर साँस्कृतिक समाजका निर्देशक समेत रहेका खतिवडा सप्तक कला केन्द्र उदयपुरका पूर्व अध्यक्ष, त्रियुगा संगीत विद्यालयका कार्यकारी निर्देशक, प्लेइङ फर चेन्ज फाउण्डेसन तीनतले उदयपुर संगीत केन्द्रका संगीत प्रशिक्षक हुन भने उनीसँग ३७ वर्षको संगीत अनुभव रहेको छ ।
भारतको इलाहवाद संगीत विद्यालयबाट संगीत प्रभाकरको उपाधि पाएका खतिवडाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन् भने गुरुदेव कामतबाट शास्त्रीय संगीतको समेत प्रशिक्षण लिएका छन । पूर्वाञ्चल संगीत विद्यालय इटहरीबाट २०६८मा, मोरङ सांस्कृतिक समाज बिराटनगरको आयोजनामा भएको कार्यक्रममा चतुर्भुज आशावादी संगीत सम्मानबाट २०७९ मा सम्मानित भैसक्नु भएको छ । उदयपुरको गाईघाटमा भएको सांगीतिक कार्यक्रममा शिला बहादुर मोक्तानको हातबाट संगीत अवार्ड समेत पाउनु भएको छ । यि बाहेक देशका विभिन्न ठाउँमा भएका साँगीतिक कार्यक्रममा सहभागिता जनाउनुका साथै पुरस्कृत र सम्मानित भैसक्नु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा २०७८ मा आफ्नो दमदार सांगीतिक प्रस्तुती दिइसक्नु भएको छ ।
बाल्यकालदेखि नै गीत संगीतमा रमाउँदै आएका खतिवडाले आफूलाई संगीत सिकाउने श्रोत व्यक्तिका रूपमा संगीतामृत श्री राम आचार्य,मधुरस्वरलिपि श्रीहरिश्चन्द्र श्रीवास्तव, र मादल गाइड सुवि शाहबाट धेरै ज्ञान लिएको उहाँले सुनाउनु भयो । यतिमात्र नभएर उदयपुर सांस्कृतिक समाजको निर्देशक, सप्तक कला केन्द्र उदयपुरको संस्थापक अध्यक्ष, त्रियुगा संगीत विद्यालयको कार्यकारी निर्देशक भएर कामगर्दा आफूलाई जीवनमा आनन्द लागेको बताए ।
त्रियुगा नपा १२ साधनाटोल घरभएका खतिवडाले यस अघि कटारी नगरपालिकाको तिनतले स्थित तिनतले उदयपुर संगीत केन्द्रको प्रशिक्षक भएर करीब तीन वर्ष गीत संगीत सिकाउने काम गरे भने अहिले आफ्नै घरमा निजी लगानीमा र अमेरिकाको प्लेइङ फर चेञ्ज नाम संस्थाको सहयोगमा संगीत विद्यालय संचालन गरिरहेका छन् । जिल्लाभरिका सयजना प्रशिक्षार्थीलाई दैनिक तीन चरणमा प्रशिक्षण दिने गरेको बताउँदै खतिवडाले पहाडका गाउँतिर लुकेका प्रतिभाहरूलाई खोजि गरेर संगीत विद्यालयमा भर्ना गरी सिकाउने काम गरिरहेको बताए ।
प्लेइङ फर चेञ्ज नामक संस्थाले नेपालका पाँच ठाउँमा संगीत प्रशिक्षण केन्द्र संचालन गरेकोमा उदयपुरमा मात्र ३ वटा छन भने काठमाण्डौ र ललितपुरमा एक एकवटा प्रशिक्षण केन्द्र संचालनमा रहेको र उदयपुरको कटारी, तिनतले र गाईघाटमा संगीत विद्यालय संचालनमा रहेको खतिवडाले बताए ।
मान्छेको प्रतिभा र त्यस प्रतिको लगाव पनि अचम्मको हुन्छ । आफ्नो रुचि अनुसारको विधामा लगाव भए पनि छँदाखाखाको स्थायी जागिरबाट राजिनामा दिएर संगीततिर लाग्नु भनेको आफ्नो रुचि, सीप र दक्षतालाई समाजका सामु छर्लङ पार्नु हो ।
गाईघाट स्थित जनप्रेमी आधारभूत विद्यालयको प्रधानाध्यापक जस्तो पदको जागिरलाई राजिनामा दिएर अहिले त्रियुगा संगीत विद्यालयको निर्देशक भएर संगीत विद्यालय संचालन गरेर शैलेन्द्र खतिवडाले उदयपुरको सोगीतिक क्षेत्रमा तहल्का नै मच्चाएका छन् ।
पहिले शिक्षक हुँदा पनि जिल्लाका धेरै शिक्षकहरूलाई संगीत सिकाएका खतिवडाले अहिले त्रियुगा संगीत विद्यालयमा सयजना प्रशिक्षर्थीहरूलाई गायन सहितको संगीत शिक्षा दिइरहेका छन् ।
खतिवडा भन्छन् गति संगीतका मध्यमबाट समाजलाई नयाँ चेतसहितको साँस्कृतिक जागरणमा लैजाने र भविष्यमा सांस्कृतिक चेतना फैलाएर असल समाज र नागरिक उत्पादन गरीसमाजमा व्याप्त विकृति विसङ्गतीलाई गीत संगीत कै माध्यमबाट जरैदेखि फाल्ने उद्देश्यले आफू यो सांगीतिक यात्रामा होमिएको हुँ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर