डिप्रोक्स लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?


काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको खुद नाफा १०.९६ प्रतिशतले घटेर ८ करोड ८२ लाख रुपैयाँमा खुम्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ९ करोड ९१ लाख ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
लघुवित्तको खुद ब्याज आम्दानी थोरै बढेपनि इन्मपेरमेन्ट चार्ज बढेका कारण खुद नाफा घट्न पुगेको हो।
संस्थाको खुद ब्याज आम्दानी ०.५३ प्रतिशत बढेर ३३ करोड ४२ लाख रुपैयाँ पुगेको छ ।
लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ३.६८ प्रतिशतबाट बढेर ५.१४ प्रतिशत पुगेको छ। यससँगै लघुवित्तले इम्पेरमेन्ट चार्जमा ४ करोड ८९ लाख रुपैयाँ व्यवस्था गरेको छ। जसले गर्दा लघुवित्तको सञ्चालन मुनाफा र खुद नाफा दुबै १०.९६ प्रतिशत घट्न पुगेको हो।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ। संस्थाको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा घटेर २२ रुपैयाँ ७६ पैसामा झरेको छ। असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ २२१ रुपैयाँ १६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.१९ गुणा रहेको छ।
१ अर्ब ५५ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ सञ्चित छ। असोज मसान्तसम्ममा लघुवित्तले ९ अर्ब ४ करोड १२ लाख रुपैयाँ निक्षेप तथा सापटीबाट ९ अर्ब ८३ करोड ३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
Shares